कागजमै सीमित अभियन्ता ईः र काठमाडौं महानगरबीचको सहमति

मंसिर अन्तिमसम्म पर्खने र त्यसपछि विरोधका थप कार्यक्रम ल्याउने ईःको चेतावनी

सोमबार, ११ मंसिर, २०८०
डिजिटल संस्करण

फुटपाथमा व्यापार गर्दै आएका व्यापारीलाई वैकल्पिक स्थानको व्यवस्था गर्नुपर्नेलगायत माग गर्दै एक सय ९९ घन्टाको धर्नापश्चात् अभियन्ता ईः र काठमाडौं महानगरबीच दुई महिना (१० असोज)अघि चारबुँदे सहमति भएको थियो । सहमतिअनुसार साबिकमा फुटपाथ–सार्वजनिक स्थलमा व्यापार गरेका व्यवसायीका लागि कानुनले निषेध गरेको स्थानबाहेक महानगरभित्रै उपयुक्त स्थान पहिचान गर्न एक साताभित्र पहल गर्ने उल्लेख थियो । सहमतिपत्रमा उल्लेख यो बुँदालाई महानगरले सात दिनभित्रै तोडेको थियो । 

अर्को बुँदा, फुटपाथ–सार्वजनिक स्थलमा व्यापार गर्नेक्रममा जफत गरिएका सामान महानगरको स्टोरमा भएसम्म यकिन गरी सम्बन्धित सामानधनीलाई फिर्ता गर्ने भन्ने थियो । उक्त सहमति पनि हालसम्म पूरा भएको छैन । अन्तिम बुँदा थियो, अनौपचारिक क्षेत्रमार्फत हुने व्यापार–व्यवसायलाई व्यवस्थित गर्न व्यापार गर्ने स्थल, समय, व्यापार गर्न आवश्यक मानिने व्यक्ति यकिन गर्ने र स्थान उपलब्ध गराउने विधि, प्रक्रिया तथा कानुनी व्यवस्थासमेतको प्रबन्ध गर्नुपर्ने विषयमा ठोस सुझावसहित अध्ययन गरी दुई महिनाभित्र महानगरपालिकामा प्रतिवेदन पेस गर्न समिति गठन गर्ने भन्ने थियो ।

समितिमा काठमाडौं महानगरपालिकाले तोकेका तीनजना, अभियानकर्ता ईःको तर्फबाट तोकिएका प्रतिनिधि दुईजना, भौतिक तथा यातायात मन्त्रालयको प्रतिनिधि एकजना, सहरी विकास मन्त्रालयका प्रतिनिधि एकजना र ट्राफिक प्रहरीका प्रतिनिधि एकजना रहने व्यवस्था थियो । यो बुँदा पनि हालसम्म कागजमै सीमित भएको छ । 

अभियन्ता ईः भन्छन्– बालेन पुराना नेताजति पनि इमानदार भएनन् 
आफैँले गरेको सहमति चरणबद्ध रूपमा तोडेर महानगरका मेयर बालेन्द्र साह (बालेन) पुराना नेताजति पनि इमानदार नभएको अभियन्ता ईःको आरोप छ । ‘समिति गठनका लागि डेढ महिनाअघि दुईजनाको नाम माग भएको थियो । सोअनुसार सडक व्यवसायी र अभियन्ताको तर्फबाट दुईजनाको नाम पठाएँ । त्यसपछि कुनै छलफल, बैठक केही भएको छैन ।

सहमतिअनुसारको अन्य काम पनि भएको छैन,’ अयिभन्ता ईःले भने, ‘पहिलेका नेताहरूले प्रतिबद्धता, सहमति, सम्झौता गरेपछि काम नगरे पनि समिति बनाउने, छलफलसम्म पनि गर्थे । तर, उनमा त्यति देखिएन ।’ तर, महानगरले पहिलेजस्तो व्यापारीमाथि हिंसात्मक गतिविधि नगरेकाले नकारात्मक भइहाल्ने अवस्था भने नरहेको उनी बताउँछन् । ‘मैले फुटपाथ व्यवसायीहरूसँग कुरा गर्दा बिहान र बेलुका व्यापार गर्न महानगर लचिलो देखिएको छ । हिंसात्मक काम गरेको छैन । त्यसैले नकारात्मक भइहाल्ने अवस्था छैन,’ उनले भने । महानगरले सहमति कार्यान्वयन गर्ने समय मंसिर मसान्तसम्म रहेकाले त्यतिवेलासम्म हेर्ने र सोहीअनुसार प्रतिक्रिया दिने उनी बताउँछन् । मंसिरपछि भने महानगर पहिलेजस्तै क्रूर भएर अगाडि बढ्ला कि भन्ने त्रास बढेको उनको भनाइ छ ।

महानगरको दाबी : अभियन्ता ईः छलफलमै आएनन्
काठमाडौं महानगरले भने अभियन्ता ईः सहमतिपछि छलफलमै नआएकाले अब कसरी अगाडि बढ्ने भन्नेमा अन्योल भएको जनाएको छ । महानगरका प्रवक्ता नवीन मानन्धर फुटपाथ व्यवसायीले आफ्नो सामान पहिचान गर्न नसकेकाले सामान फिर्ता नगरेको र अभियन्ता पनि छलफलमा नआएको बताउँछन् । ‘आफ्नो सामान पहिचान गर्न सक्नेले सामान लिएर जानुभएको छ ।

सामान पहिचान गर्न नसक्नेले मात्र सामान लैजान नसक्नुभएको हो,’ प्रवक्ता मानन्धरले भने, ‘चौथो बुँदामा भएको सहमतिअनुसार ठाउँ पहिचान गर्न उहाँहरू आउनुभएन । तेस्रो बुँदामा काम गर्न उहाँहरू छलफलमा आउनुभएपछि काम अगाडि बढ्छ ।’ उनका अनुसार अभियन्तासँगको सहमतिअनुसार फुटपाथ व्यवसायीसँग महानगर लचिलो भएको हो । 

फुटपाथ व्यवसायीको उचित व्यवस्थापन गर्नुपर्ने भन्दै अभियन्ता ईःले १९९ घन्टा उभिएर राष्ट्रिय सभागृहअगाडि विरोध प्रदर्शन गरेपछि सहमति भएको थियो । सुरुमा उनले ७७ घन्टे आन्दोलन थालेका थिए । आफ्ना माग पूरा नभएपछि यसलाई एक सय ९९ घन्टासम्म लम्ब्याएका थिए । महानगरविरुद्ध ‘चमेली समूह’ अभियान सुरु गर्ने केही स्वतन्त्र युवाहरूसमेतले राष्ट्रिय सभागृहपरिसरमा उभिएरसमेत विरोध प्रदर्शन गरेका थिए ।

 नवीन मानन्धर, प्रवक्ता,
काठमाडौं महानगरपालिका

फुटपाथ व्यवसायीले आफ्नो सामान पहिचान गर्न नसकेकाले सामान फिर्ता नगरेको र अभियन्ता पनि छलफलमा आएका छैनन् । आफ्नो सामान पहिचान गर्न सक्नेले सामान लिएर जानुभएको छ । चौथो बुँदामा भएको सहमतिअनुसार ठाउँ पहिचान गर्न उहाँहरू आउनुभएन । तेस्रो बुँदामा काम गर्न उहाँहरू छलफलमा आउनुभएपछि काम अगाडि बढ्छ ।

सुझावित समाचार