अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) र नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसिएचएल)बीच डिजिटल भुक्तानी इकोसिस्टमलाई सुदृढ बनाउँदै नेपालमा डिजिटल भुक्तानीको क्षेत्रलाई प्रवद्र्धन गर्ने सम्झौता भएको छ । सम्झौतामा आइएफसी नेपालका आवासीय प्रतिनिधि बाबाकार सेदिखफाये र एनसिएचएलका प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका हुन् ।
सम्झौताअनुसार आइएफसीले एनसिएचएललाई नेसनल पेमेन्ट स्विच (एनपिएस)को प्रारम्भिक रोलआउटलगायत कार्यान्वयनका लागि विभिन्न गतिविधिमा प्राविधिक सहायता उपलब्ध गराउनेछ । उक्त सहायताअनुरूप आइएफसीले मुख्य सञ्चालन नियम, प्राविधिक तथा सुरक्षा मापदण्डको समीक्षाका लागि एडभाइजरीको भूमिका निर्वाह गर्ने उल्लेख छ ।
एनसिएचएलको नयाँ डिजिटल पहल डिजाइन र सञ्चालन गर्न, क्रस–बोर्डर पेमेन्ट, इन्डस्ट्री स्यान्डबक्स स्थापना गर्न र विभिन्न वित्तीय क्षेत्रको क्षमता अभिवृद्धि गर्न सहयोग गर्ने जनाइएको छ । आइएफसी र एनसिएचएलबीचको सम्झौतालाई डिजिटल भुक्तानी इकोसिस्टममा एक महत्वपूर्ण कोसेढुंगाको रूपमा लिइएको एनसिएचएलले जनाएको छ । साथै, नेपालमा डिजिटल पहललाई थप सुदृढ गर्न महत्वपूर्ण आयाम थप्ने कम्पनीले अपेक्षा गरेको छ ।
आइएफसी विश्व बैंक समूहको सबैभन्दा ठूलो विकास संस्था हो । यसले सदस्य राष्ट्रहरूमा उत्पादनमूलक लगानीमा स्वदेशी र विदेशी निजी पुँजीको अनुकूल प्रवाहलाई प्रोत्साहन र मद्दत गर्न केन्द्रित सहयोग गर्दै आएको छ ।