काठमाडौं महानगर युनेस्कोको रचनात्मक सहरमा छनोट

बिहिबार, १६ कार्तिक, २०८०
डिजिटल संस्करण
काठमाडौं महानगर युनेस्कोको रचनात्मक सहरमा छनोट

विश्व सम्पदा सूचीमा सूचीकृत काठमाडौंको वसन्तपुर दरबार क्षेत्र

नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाउने अवसर, नेपालले अवसरको सदुपयोग गर्ने युनेस्कोको विश्वास

चलचित्र विधाबाट युनेस्कोको रचनात्मक सहर सञ्जाल (क्रिएटिभ सिटिज नेटवर्क)मा काठमाडौं महानगर छनोट भएको छ । हरेक वर्ष २१ अक्टोबरमा मनाइँदै आएको विश्व सहर दिवसको अवसरमा युनेस्कोले मंगलबार काठमाडौंलाई सिर्जनशील सहरमा छनोट गरेको हो ।

रचनात्मक सहरका लागि तोकिएका सात क्षेत्रमध्ये काठमाडौं महानगरले चलचित्र विधा चयन गरेको थियो । युसिसिएन (युनेस्को क्रिएटिभ सिटिज नेटवर्क)मा आबद्ध हुन शील्प तथा लोककला, संगीत, चलचित्र, साहित्य, ग्यास्ट्रोनमी (खानाका परिकार), मिडिया कला र डिजाइनमध्ये एक विधालाई छान्नुपर्ने प्रावधान थियो । यीमध्ये महानगरले चलचित्र विधा छानेको थियो । सञ्जालमा एक सय देशका तीन सय ५० सहर आबद्ध छन् । यसपटक ५५ वटा सहर थपिएका छन् । रचनात्मक सहरका सबै विधा काठमाडौंसँग सम्बन्धित भएकाले चलचित्र विधाबाट सबै क्षेत्र समेट्न सकिने हुँदा यो विधा छानेको महानगरका प्रवक्ता नवीन मानन्धरले बताए । ‘सातमध्ये चलचित्र विधाले बाँकीलाई समेट्ने भएकाले हामीले यो छनोट गरेका थियौँ,’ प्रवक्ता मानन्धरले भने, ‘काठमाडौं चलचित्र सहरको रूपमा छनोट भएसँगै राष्ट्रलाई निकै फाइदा हुने भएको छ । सिंगो देशलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन अवसर प्राप्त भएको छ ।’ 

रचनात्मक सहरमा आबद्ध हुन महानगरले गत ४० पृष्ठको फाराम भरेको थियो । काठमाडौंसहित ललितपुर महानगरले पनि विधामा फाराम भरेको थियो, तर काठमाडौं मात्र छनोट भएको हो । यस वर्ष सञ्जालमा जोडिएका सहरमध्ये काठमाडौंसहित पाँच सहर चलचित्र विधातर्फका छन् । यस्तै, संगीत विधामा १६ वटा, डिजाइनमा ६ वटा, शिल्प तथा लोककलामा सातवटा, साहित्यमा १० वटा, ग्यास्ट्रोनमी (खानाका परिकार)मा सात, मिडिया कलामा चार सहर जोडिएका छन् । महानगरले रचनात्मक सहरमा आबद्ध हुने निर्णय गरेपछि व्यवस्थापन केन्द्र स्थापना गरेर सरोकारवालाको पहिचान गरिएको थियो । सरोकारवालाबीच परामर्श समूह निर्माण, विषय र रचनात्मक सम्पत्तिको नक्सांकनसहित चार वर्षका लागि कार्ययोजना तयार पारेर प्रस्तावसहित पेस गरिएको थियो ।

युनेस्को रचनात्मक सहरमा छानिए के हुन्छ ?
कार्यक्रम अन्तर्गत चलचित्र क्षेत्रको विकास र विस्तार तथा यससँग सम्बन्धित उद्योग सन्चालन, संरक्षण र प्रवद्र्धनका लागि आवश्यक नीति, अनुसन्धान र विकासका लागि काठमाडौं क्रिएटिभ आट्र्स काउन्सिल (केसिएसी, केएमसी) स्थापना हुनेछ । यसले सांस्कृतिक र रचनात्मक कलाअन्तर्गतका सबै कार्यक्रम र गतिविधि कार्यान्वयन गर्नेछ । उद्योगमा आबद्ध क्षेत्रगत जनशक्तिको शैक्षिक क्षमता सुधार, प्रशिक्षण, चलचित्र विषय अध्ययन हुने विद्यालय तथा विश्वविद्यालयबीच समन्वय सहकार्य गरेर स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलचित्र निर्माणलाई प्रतिभाको रूपमा प्रोत्साहन गरिनेछ । चलचित्र उद्योगको विकासका लागि आवश्यक नीति–तर्जुमा र वकालत गर्ने, सहरका लागि सांस्कृतिक र रचनात्मक रणनीति विकास गर्ने, अनुसन्धानकर्ताहरूका लागि वार्षिक रूपमा अनुसन्धान फेलोसिप प्रदान गर्ने, सीमान्तकृत समुदायसहित लक्षित वर्गलाई यसमा सहभागी हुन छात्रवृत्ति प्रदान गरिनेछ । 

चलचित्र र अन्य रचनात्मक उद्योगका लागि विद्यमान पूर्वाधारलाई सुधार र स्तरोन्नति गरिनेछ । पारम्परिक वास्तुकला झल्काउने, सुन्दरता अभिवृद्धि हुने सहर निर्माण गरेर लागतप्रभावी चलचित्र निर्माणको वातावरण बनाइनेछ । ल्यान्डस्केप डिजाइन, विश्व सम्पदा क्षेत्रहरूको सुधार, पूर्वाधार स्तरवृद्धि, वास्तुकला संवद्र्धन, चलचित्र निर्माणको कथा कथन र सौन्दर्यशास्त्रमा योगदान पु¥याउने दृश्यात्मक मनमोहक स्थानहरू उपलब्ध गराइनेछ । चलचित्र स्टुडियो, पोस्ट उत्पादन सुविधा, चलचित्र विद्यालय, उद्योगका विधागत सीप र सिकाइहरूलाई सञ्जालमा आबद्ध गरेर प्रवद्र्धन गरिनेछ । अभिलेख, पुस्तकालय र संग्रहालयको विकास हुनेछ । स्थानीय सांस्कृतिक र रचनात्मक उद्यमीलाई र साना र मध्यम आकारका उद्योग सञ्चालन गर्न सहयोग पुग्नेछ । व्यञ्जन, कला र शिल्प, हस्तकला उद्योगको प्रवद्र्धन र मूर्त–अमूर्त सांस्कृतिक सम्पदाको संरक्षण गर्न महोत्सव र प्रदर्शनीको आयोजना गरिनेछ । अन्तर्राष्ट्रियस्तरका उद्यमीलाई सञ्जालमा जोड्न अन्तर्राष्ट्रिय चलचित्र महोत्सव, फिल्म एक्स्पो, फिल्म समिटजस्ता कार्यक्रम सञ्चालन हुनेछन् । 

युनेस्को क्रिएटिभ सिटिज नेटवर्कका लागि पाँच करोड बजेट
कार्यक्रम सञ्चालनका लागि महानगरले पाँच करोड रुपैयाँ विनियोजन गरेको छ । महानगरले बजेट अभाव हुन नदिनेसमेत प्रतिबद्धता जनाएको छ । युनेस्को नेपालका आवासीय प्रतिनिधि माइकल क्रप्टले नेपाल प्रकृति र सम्पदामा अलौकिक रहेको भन्दै यो विधालाई उपयोग गर्नुपर्ने बताए । ‘नेपाल आउनुअघि यहाँको प्राकृतिक र सांस्कृतिक विविधताका विषय थाहा थिएन । यहाँ आएपछि बुझेँ, यहाँको प्रकृति र सम्पदा अलौकिक रहेछन् । मजस्तै नेपाल र काठमाडौंका विषयमा जानकारी नहुनेलाई चलचित्र विधाबाट गरिने क्रियाकलाप प्रवद्र्धनका लागि उपयोगी हुनेछन् । यो काठमाडौंका लागि अवसर हो । यसलाई उपयोग गर्नुपर्छ,’ उनले भने । 

सुझावित समाचार