नेपालमा लगानी गर्न बेलायतका एनआरएनलाई अध्यक्ष ढकालको आग्रह

अर्थतन्त्रका समस्या समाधान हुँदै गएकाले लगानीको अवसर छोप्ने उपयुक्त मौका भएको भनाइ

मंगलबार, १४ कार्तिक, २०८०
डिजिटल संस्करण

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीका प्रचुर अवसरहरू भएकाले लगानी बढाउन बेलायतमा रहेका गैरआवासीय नेपालीहरूलाई आग्रह गरेका छन् । नेपाल जनसम्पर्क समिति बेलायतले लन्डनमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष ढकालले नेपालको जलविद्युत् र पर्यटनमा लगानीको प्रतिफल उच्च रहेकाले लगानी बढाउन आग्रह गरेका हुन् । 

बेलायतमा रहेका गैरआवासीय नेपालीकोसमेत लगानीमा केबलकार सञ्चालनमा ल्याएको चन्द्रागिरि हिल्स नेपालकै आकर्षक पर्यटन गन्तव्य बनेको र उच्च प्रतिफल दिएको उदाहरण प्रस्तुत गर्दै अध्यक्ष ढकालले लगानी बढाउन हिचकिचाउनुपर्ने कारण नरहेको बताए । 

सातै प्रदेशमा चन्द्रागिरिजस्तै हिल स्टेसनसहितका केबलकार परियोजना अघि बढाएको उल्लेख गर्दै अध्यक्ष ढकालले आफू जन्मेहुर्केको प्रदेशमा रहेका पर्यटकीय पूर्वाधार परियोजनामा लगानी गर्न पनि गैरआवासीय नेपालीहरूलाई आग्रह गरे । कास्कीको सिकलेस, ताप्लेजुङको पाथीभरा र कर्णाली चिसापानीको जाल्पादेवी केबलकार परियोजना निर्माणको चरणमा प्रवेश गर्न थालिसकेकाले लगानीको अवसर हातमै आइपुगेको उनको भनाइ थियो । 

यसैगरी, गैरआवासीय नेपालीसँगको सहकार्यमा म्याग्दीमा जलविद्युत् परियोजना सम्पन्न भइसकेकाले अन्य जलविद्युत् परियोजनामा समेत लगानी बढाउन पनि अध्यक्ष ढकालले आग्रह गरे । विश्वव्यापी संकटका असरले नेपालको अर्थतन्त्रमा देखिएका समस्या समाधान हुँदै गएको, उल्लेख्य रूपमा रेमिट्यान्स भित्रिएको, पर्यटक आगमनमा सुधार भएको र बैंकिङ क्षेत्रमा लगानीयोग्य रकम बढिरहेकाले लगानीको वातावरण सुधार भइरहेको ढकालले उल्लेख गरे ।

सामाजिक सञ्जालमार्फत फैलिने नकारात्मक कुरालाई ध्यान नदिएर नेपालमा रहेका लगानीका अवसरहरूलाई छोप्न पनि अध्यक्ष ढकालले आग्रह गरे । लगानी तथा प्रतिफलका हिसाबले नेपालमा अवसरै–अवसरको सम्भावना भएकाले त्यसबाट फाइदा उठाउन ढिलाइ गर्न नहुने उनको भनाइ थियो । 

सुझावित समाचार