चार करोड ६७ लाख गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोग
गैरकानुनी सम्पत्ति आर्जनको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक लेखा अधिकृतविरुद्ध चार करोड ६७ लाख ३८ हजार रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरेको छ । जलस्रोत अनुसन्धान विकास केन्द्र ललितपुरका लेखा अधिकृत तोरणबहादुर कार्कीविरुद्ध सोमबार अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
१७ जेठ ०५३ मा सार्वजनिक सेवामा प्रवेश गरेको कार्कीको गत २८ मंसिर ०७९ सम्मको अवधिको आम्दानी र खर्चको विश्लेषण अख्तियारले गरेको थियो । आम्दानीतर्फ पत्नी उर्मिला थापा कार्कीसहितको पारिश्रमिक आय, विभिन्न भत्ता, घरबहाल, बिमा, जग्गा बिक्री, बैंक ब्याज, विभिन्न बैंक तथा वित्तीय संस्थाहरूबाट लिएको कर्जा, ऋणबापत प्राप्त विप्रेषणलगायतका शीर्षकमा कार्कीको वैध आय एक करोड आठ लाख ४८ हजार ५९० रुपैयाँ देखिएको छ ।
सोही अवधिमा उनले पाँच करोड ७५ लाख ८७ हजार ३७० रुपैयाँ खर्च तथा लगानी गरेको देखिन्छ । घर–निर्माण, जग्गा खरिद र रजिस्ट्रेसन दस्तुर, अध्ययन, ऋण लिएबापत तिरेको साँबा–ब्याज, बिमा प्रिमियमबापत तिरेको रकम, सवारीसाधन खरिद, विभिन्न कम्पनीको सेयर खरिद, पुँजीगत लाभकर, घरबहाल कर, बैंक मौज्दातलगायतमा उनको खर्च तथा लगानी देखिएको छ ।
परीक्षण अवधिमा कार्कीको आम्दानी र खर्च घटाउँदा आएको चार करोड ६७ लाख ३८ हजार ७८० रुपैयाँबराबरको खर्च तथा लगानी (सम्पत्ति) वैधानिक स्रोत नखुलेको आरोपपत्रमा उल्लेख छ । ‘निजको वैधानिक आयको तुलनामा खर्च एवं लगानीसहितको सम्पत्ति विवरण अमिल्दो र अस्वाभाविक देखिन आएबाट वैधानिक रूपले आर्जित सम्पत्तिको अनुपातमा मनासिब नदेखिने किसिमको अमिल्दो र अस्वाभाविक उच्चस्तरको जीवनयापन निज तोरणबहादुर कार्की र निजको परिवारले गरेको प्रमाणित भयो,’ अख्तियारको आरोपपत्रमा उल्लेख छ । स्रोत नखुलेको सम्पत्तिबराबरको रकमलाई बिगो कायम गरेर भ्रष्टाचार निवारण ऐनबमोजिम जरिवाना र कैद सजाय तथा स्रोत नखुलेको सम्पत्तिबाट बढेबढाइ हाल कायम रहेको सम्पत्तिसमेतबाट बिगो र जरिवाना जफत गरी पाउन पनि अख्तियारले दाबी गरेको छ
सार्वजनिक पदको दुरुपयोग गरी भ्रष्टाचारजन्य कार्यमार्फत कार्कीले गैरकानुनी रूपमा आर्जन गरेको स्रोत नखुल्ने सम्पत्ति पत्नी उर्मिलाका नाममासमेत राखेको देखिएको छ । पत्नीका नाममा जग्गा, सेयर, सवारीसाधन खरिद तथा बैंक खाताहरूमा रकम मौज्दातलगायतमा गरिएका खर्चमध्ये स्रोत पुष्टि हुन नसकेको लागत मूल्यबराबरको भागको स्रोत नखुलेको सम्पत्ति बिगो जफत गर्न पनि अख्तियारले भनेको छ ।