बागमती प्रदेश सभाको दोस्रो अधिवेशनको २९औँ बैठक आउँदो १८ भदौमा बस्ने भएको छ । प्रदेश सभा सचिवालय हेटौँडाले १८ भदौ दिनको १ः३० बजेका लागि प्रदेश सभा बैठक आह्वान भएको जानकारी दियो ।
गत २२ असारमा आर्थिक वर्ष ०८०/८१ को बजेट पास गरेलगत्तै अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरिएको थियो । दुई महिनापछि बैठक बस्न लागेको हो ।
प्रदेश सभा सचिवालयका सचिव कृष्णहरि खड्काले १८ भदौमा बस्ने बैठकको सम्भावित कार्यसूची तयार गर्न सोही दिन बिहान ११ः३० बजे कार्यपरामर्श व्यवस्थापन समितिको बैठक बस्ने जानकारी दिए ।
सचिवालयमा मंगलबार सरकारको तर्फबाट एउटा विधेयक दर्ता भएको पनि प्रदेश सभा सचिवालयले जनाएको छ । सचिवालयमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयले युवा वैज्ञानिक खोज अनुसन्धान तथा नवप्रवर्तनसम्बन्धी विधेयक दर्ता गरेको सचिवालयका प्रवक्ता मनोज गुप्ताले जानकारी दिए ।