४९ जना विद्यार्थीले दुई करोड ८३ हजारबराबरको छात्रवृत्ति पाउने

आइतबार, १० भदौ, २०८०
डिजिटल संस्करण

‘नेसनल आइसिटी स्कलरसिप–२०८०’ को आवेदन खुला

कम्प्युटर एसोसिएसन नेपाल महासंघले प्राविधिक शिक्षातर्फ विगत चार वर्षदेखि प्रदान गर्दै आइरहेको छात्रवृत्तिको ‘नेसनल आइसिटी स्कलरसिप–२०८०’ का लागि आवेदन खुला गरेको छ । लर्ड बुद्ध एजुकेसन फाउन्डेसनसँगको सहकार्यमा सुरु गरिएको छात्रवृत्तिमार्फत ४९ जना विद्यार्थीले आंशिक तथा पूर्ण छात्रवृत्ति पाउनेछन् । ‘नेसनल आइसिटी स्कलरसिप–२०८०’ मा प्रत्येक प्रदेशबाट एकजना छात्रालाई पूर्ण छात्रवृत्ति र बाँकी ४२ जनालाई आंशिक छात्रवृत्ति प्रदान गरिनेछ । विगत चार वर्षदेखि सञ्चालित यस छात्रवृति कार्यक्रमअन्तर्गत हालसम्म एक सय १० जना विद्यार्थी अध्ययनरत छन् ।  

यो वर्ष पनि फिमेल मेरिट आइसिटी स्कलरसिपमा प्रत्येक प्रदेशबाट चारजनाका दरले २८ जना छात्रालाई छात्रवृत्ति प्रदान गरिनेछ । आइसिटी मेरिट स्कलरसिपअन्तर्गत प्रत्येक प्रदेशबाट तीनजनाका दरले २१ जनालाई छात्रवृत्ति प्रदान गरिनेछ । क्यान महासंघ र लर्ड बुद्ध एजुकेसन फाउन्डेसन कलेजबीच भएको सम्झौताअनुसार ४९ जना विद्यार्थीले दुई करोड ८३ हजार छात्रवृत्ति पाउनेछन् । छात्रवृति प्राप्त विद्यार्थीले मलेसियाको एसिया प्यासेफिक युनिभर्सिटी अफ टेक्नोलाजी एन्ड इन्नोभेसनको सम्बन्धनमा सञ्चालित लर्ड बुद्ध एजुकेसन फाउन्डेसनमा स्नातक तहअन्तर्गत बिएससी आइटीको अध्ययन गर्न पाउनेछन् ।

नेपाल सरकारबाट मान्यताप्राप्त शिक्षण संस्थाबाट प्लस टु वा सोसरह उत्तीर्ण गरेका र कक्षा १० को गणित विषयमा कम्तीमा ५० प्रतिशत अंक ल्याएका विद्यार्थीले आवेदन दिन सक्नेछन् । छात्रवृत्तिका लागि इच्छुक विद्यार्थीले क्यान महासंघको वेबसाइट र लर्ड बुद्ध एजुकेसन फाउन्डेसनको वेबसाइटमार्फत २० भदौभित्र आवेदन दिनुपर्नेछ ।  

यो अभियानले कार्यान्वयनको चरणमा रहेको डिजिटल नेपाल फ्रेमवर्कलाई सहयोग पुग्ने क्यान महासंघका अध्यक्ष रणजितकुमार पोदारले बताए । क्यान महासंघसँगको सहकार्यले देशभित्र रहेको डिजिटल–डिभाइड कम गर्न मद्दत पुग्ने र भविष्यमा यस्तै कार्यमा अन्य संस्थालाई पनि सार्वजनिक–निजी साझेदारीका निम्ति प्रोत्साहन मिल्ने लर्ड बुद्ध एजुकेसन फाउन्डेसनका अध्यक्ष इ. पंकज जालानले बताए । 

सुझावित समाचार