दुर्गम क्षेत्रका स्टल विमानस्थलमा दिउँसो १२ बजेपछि जहाज उडानमा लगाइएको प्रतिबन्ध हटेको छ । नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले उडानका नियमहरू कडाइका साथ पालना गर्नुपर्ने सर्तसहित दिउँसो पनि उडान गर्न खुला गरेको हो ।
दुर्गम विमानस्थलहरूमा उडान आवरभन्दा अतिरिक्त समयमा गन्तव्य विमानस्थल, हवाईमार्ग र वैकल्पिक विमानस्थलमा मौसमको न्यूनतम भिजिबिलिटी कायम भएको सुनिश्चित गरी जहाजका प्रमुख चालक र डिस्प्याचरको लिखित घोषणापश्चात् मात्र उडान अनुमति प्रदान गरिने क्यानका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताए । स्टल विमानस्थलमा उडान गर्दा प्रत्येक उडानमा भिजुअल मौसम अवस्था र बादलको अवस्था सुनिश्चित गरेपश्चात् पाइलट इन कमान्ड (पिआइसी) पूर्ण सन्तुष्ट भए मात्रै उडान गर्न दिइने क्यानले स्पष्ट पारेको छ ।
‘मनसुनको समयमा दुर्घटना न्यूनीकरण गर्न दिउँसो १२ बजेपछि उडान प्रतिबन्ध गरिएको हो, तर बिहान मौसम झन् बिग्रिँदै गइरहेको छ, त्यसैले मौसम सफा हुँदा दिउँसो अतिरिक्त आवरमा पनि उडान गर्न खुला गरिएको छ,’ क्यानका सूचना अधिकारी भुलले भने, ‘उडानका नियम कडाइका साथ पालना गराउँदा दुर्घटना पनि कम हुने र जनताले पनि सास्ती नपाउने गरी मध्यमार्गी बाटो अपनाइएको हो ।’
नेपालगन्ज विमानस्थलबाट दुर्गममा उडान गर्दा सम्बन्धित वायुसेवा कम्पनीले अनिवार्य फ्लाइट अप्रेसन अफिसर (एफओओ)को व्यवस्था गर्नुपर्ने क्यानले जनाएको छ । दुर्गमका फ्लाइट अप्रेसनसम्बन्धी सम्पूर्ण काम फ्लाइट अप्रेसन अफिसरमार्फत गर्नुपर्नेछ । फ्लाइट डिस्प्याचरले उडान गर्नुभन्दा पहिला गन्तव्य, इनरुट, वैकल्पिक विमानस्थलको मौसमलगायत बुझेर पाइलटलाई ब्रिफिङ गर्नुपर्छ । ‘जोखिम मोलेर बादलभित्र जहाज लैजान दिइँदैन, डिस्प्याचर र पाइलटले मौसमको सम्पूर्ण जानकारी लिएर आफू निश्चित भएपछि मात्र उडान गर्न पाउनेछन्,’ भुलले भने, ‘उडान गर्न मौसम सफा हुनुपर्छ, उडान सुरक्षाका नियम कडाइका साथ पालना गर्नुपर्छ ।’ बिहान मौसम खुलेमा बिहानै स्टल उडान हुनेछन् । अब मौसमकै कारण बिहान उडान हुन सकेन भने सफा भएमा दिउँसो पनि उडान गर्न सकिने भयो । त्यस्तै, वायुसेवा कम्पनीले चार्टर्ड फ्लाइट पनि अनुमति लिएर गर्न पाउने भएका छन् ।
पहाडी क्षेत्रका साथै देशभरका स्टल विमानस्थलहरूको सञ्चालन समय पुनरावलोकन गर्ने तथा ‘इनरुट वेदर’को उपलब्धताबारे अध्ययन गर्न क्यानका उपमहानिर्देशकको संयोजकत्वमा एक उच्चस्तरीय समिति गठन गरेको भुलले बताए । ‘अहिले बिहान मौसम झन् बिग्रिँदै गइरहेको छ, समितिले स्टल उडान बिहान सञ्चालन गर्न उपयुक्त कि दिउँसो भनेर अध्ययन गर्नेछ,’ उनले भने, ‘दिउँसो हावा बढी चल्ने हुँदा उच्च भेगका दुर्गम विमानस्थलमा बिहान उडान राखेका थियौँ, अब यो रिभ्यु गर्नुपर्ने हो कि भन्ने छ ।’ क्यानले मनसुनमा दुर्गम क्षेत्रमा दिउँसो उडान गर्न प्रतिबन्ध लगाएपछि कर्णाली पर्यटन उद्यमी, सांसददेखि स्थानीय जनता रुष्ट भएका छन् । कर्णाली पर्यटन उद्यमी समाजले मौसम सफा हुँदा दिउँसो पनि उडान खुला गर्न माग गर्दै काठमाडौंमा प्रधानमन्त्री पुष्पकमल दाहाल, पर्यटनमन्त्री सुदन किराँती, क्यानका महानिर्देशक प्रदीप अधिकारीलगायतसँग भेटेर लबिङ गरेका थिए ।
उडान सुरक्षा र यात्रुको सहजता हेरी मध्यमार्गी निर्णय : ज्ञानेन्द्र भुल, सूचना अधिकारी, क्यान
माथिल्लो भेगमा दिउँसो हावा चल्ने हुनाले हवाई दुर्घटना न्यूनीकरण गर्नकै लागि १२ बजेपछिको उडानमा प्रतिबन्ध गरिएको हो । तर, अहिले बिहान मौसम खुलेन । त्यही भएर पनि उडान आवर ‘रिभ्यु’ गर्नुपर्ने वेला आएको हो कि भन्ने पनि छ । हामीले उडानका नियमहरू कडाइका साथ पालना गर्ने गरी दिउँसो १२ बजेपछि पनि स्टल उडान गर्न खुला गरेका छौँ । ताकि, हवाई दुर्घटना पनि कम होस् र जनताले पनि सास्ती नपाऊन् । उडान सुरक्षा र यात्रुको सहजतालाई ध्यानमा राखेर मध्यमार्गी बाटो अपनाइएको छ ।
हुम्लामा हवाई सेवा अनियमित भएको भन्दै सर्वोच्चमा रिट, ३ भदौमा सुनुवाइ
हुम्लामा हवाई सेवा अनियमित भएको र हवाई सेवा शुल्कसमेत तुलनात्मक रूपले महँगो भएको भन्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । बिहीबार दायर रिटको सुनुवाइ ३ भदौका लागि तोकिएको छ । रिट हुम्ला स्थायी ठेगाना भएका अधिवक्ता रामबहादुर शाहीले गराएका हुन् ।
कर्णाली प्रदेशमा सिन्डिकेटमा हवाई यातायात चल्ने र उडान अनियमित भइरहँदा त्यहाँका बासिन्दाले अकालमै ज्यान गुमाउनुपरेका घटनासमेत रहेको भन्दै रिट दर्ता भएको हो । रिटमा नागरिक उड्डयन प्राधिकरण, कर्णाली प्रदेश सरकार, मुख्यमन्त्री, नेपाल सरकार, कानुन मन्त्रालय, भौतिक पूर्वाधार मन्त्रालयलगायतका सम्बद्ध १० निकायलाई विपक्षी बनाइएको छ ।
‘हुम्ला जाने हवाईमार्ग नेपालगन्ज–हुम्ला, सुर्खेत–हुम्ला र कहिलेकाहीँ काठमाडौंबाट हुम्ला लिने, तर यसको निरन्तरता नगरी हवाई सेवा हवाई कम्पनीहरूले आफ्नोअनुकूलता नहुँदा नलिने, यदि लिइहाले पनि भौगोलिक विकटताको फाइदा उठाउँदै नेपालको अरू क्षेत्रभन्दा तीन–चार गुणा बढी भाडादर असुल्ने गर्दै आइरहेको अवस्था छ,’ रिटमा छ, ‘हवाई टिकट नपाइने, पाइहाले पनि अरू जिल्लाको भन्दा अत्यधिक मनपरी भाडादर तिर्नुपर्ने, सोही टिकटमा पनि महिनौँ दिन कुर्दासम्म पनि कहिले हुम्ला पुगिने हो, कहिले हुम्लाबाट नेपालगन्ज–सुर्खेत पुग्ने हो, कुनै ठेगान नहुनेजस्ता समस्या हुम्ली जनताले लामो समयदेखि खेप्दै भोग्दै आइरहेको हो ।’
यी र यस्ता कारणबाट हुम्लीले अकालमै मृत्युवरण गर्नुपर्ने अवस्थासमेत रहेको हुँदा हवाई सेवाप्रदायक निकायलाई उत्तरदायी बनाउनुपर्ने माग रिटमा गरिएको छ । विमान कम्पनीहरूबीच अस्वस्थ व्यावसायिक प्रतिस्पर्धा मात्र नभई भौगोलिक कठिनाइलाई समेत ध्यानमा राखी सेवाको दृष्टिले पनि हवाई सेवाका लागि नीति निर्माण गर्नुपर्ने माग निवेदकको छ । सडक सञ्जाल नरहेको हुम्लामा विमान एक मात्र विकल्प भएका कारण टिकटमा हुने कालोबजारी रोक्नुपर्ने, मूल्य तोक्नुपर्नेजस्ता माग अधिवक्ता शाहीको छ ।