असारको पहिलो साता गोलभेँडा बिक्री नभएको भन्दै कालिमाटी तरकारी बजारमा करिब ३० हजार किलो सडकमा फालिँदा बजार मूल्य प्रतिकिलो ६ रुपैयाँ थियो । त्यतिवेला किसानले प्रतिकिलो तीन रुपैयाँमा पनि बिक्री नभएको भन्दै सडकमा फालेर विरोध गरेको बताएका थिए । तर, सडकमा फालेको एक महिना बित्न नपाउँदै गोलभेँडाको मूल्य अस्वाभाविक वृद्धि भएको छ । असारको पहिलो साता सडकमा फाल्नुपरेको गोलभेँडाको मूल्य दोस्रो साता लागेसँगै उच्च गतिमा बढ्न थाल्यो ।
साउनको तेस्रो सातामा आइपुग्दा गोलभेँडाको मूल्य किलोमै एक सय ६२ रुपैयाँको फरक परेको छ । कालिमाटी बजारमै ठूलो गोलभेँडाको मूल्य २१ साउनमा प्रतिकिलो औसत एक सय ६८ रुपैयाँ निर्धारण गरिएको छ । खुद्रा बजारमा उपभोक्ताले प्रतिकिलो एक सय ८० देखि एक सय ९० रुपैयाँ खर्च गरेर गोलभेँडा खरिद गरेका छन् ।
आइतबार वनस्थली तरकारी बजारमा आएकी मनिता चौलागाईंले गोलभेँडा किन्नै नसकिने अवस्थामा पुगेको बताइन् । उनले प्रश्न गरिन्, ‘अस्तिसम्म गोलभेँडा बिकेन भनेर फालेँ, आजभोलि छोइनसक्नु छ, के हो बुझ्नै नसकिने ?’ गोलभेँडा मात्र नभएर अन्य हरियो तरकारीको मूल्य पनि वृद्धि भएको छ ।
कालिमाटी बजार विकास मितिका प्रवक्ता विनय श्रेष्ठले गोलभेँडाको मूल्य बढ्नु सामान्य भएको बताए । उनले भने, ‘यतिवेला गोलभेँडा उत्पादनको अफ सिजन मानिन्छ, माग आपूर्तिबीचको सामञ्जस्यता नमिल्दा भाउ बढ्न पुगेको हो ।’ उनका अनुसार कालिमाटीमा औसतमा ६० देखि ६५ मेट्रिकटन गोलभेँडा आउने गरेकोमा अहिले ३० देखि ३५ मेट्रिकटन मात्र आइरहेको छ । भारी वर्षाका कारणले ढुवानीमा समस्या हुँदा पनि मूल्य बढ्न पुगेको किसान महासंघका अध्यक्ष नवराज बस्नेतले बताए । उनले भने, ‘पटक–पटक बाटो अवरुद्ध हुने र अनुगमन पनि पर्याप्त नहुँदा उपभोक्ताले धान्न नसकिने गरी मूल्य बढ्न पुग्यो ।’
तरकारी, कागतीको मूल्य पनि बढेको छ । एक महिनाअघि प्रतिकिलो एक सय ४० रुपैयाँ रहेको कागती अहिले एक सय ५५ सम्म पुगेको । त्यस्तै, गाजरमा पनि एक महिनामा १३ रुपैयाँले बढेको छ भने सुकेको भारतीय प्याज प्रतिकिलो ६ रुपैयाँसम्म बढेको कालिमाटी बजार विकास समितिले जनाएको छ ।
भारतले चामल आयातमा प्रतिबन्ध लगाउँदा चामलको मूल्य बोरामै दुई सयदेखि दुई सय ५० रुपैयाँसम्म बढेको खुद्रा व्यापार संघका अध्यक्ष पवित्रा बज्राचार्यले बताए । बजारमा सनफ्लावर तेल र चिनीको मूल्य पनि प्रतिकिलो १० रुपैयाँले बढेको उनको भनाइ छ । तर, उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले भारतीय प्रतिबन्धलाई देखाएर व्यापारीले कालोबजारी गरेको आरोप लगाए ।