काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले सन् २०२६ मा नेपालको आर्थिक वृद्धिदर ३.६ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ। कोषको विश्व आर्थिक परिदृश्य प्रतिवेदनअनुसार सन् २०२७ मा नेपालको अर्थतन्त्र ३.७ प्रतिशतले विस्तार हुनेछ। सन् २०२५ मा भने नेपालको आर्थिक वृद्धिदर ४.४ प्रतिशत रहेको अनुमान गरिएको छ।
आइएमएफको प्रक्षेपणले आगामी दुई वर्ष नेपालको आर्थिक विस्तार सुस्त रहने देखाएको छ। सन् २०२६ को तुलनामा २०२७ मा वृद्धिदरमा सामान्य सुधार हुने भए पनि अर्थतन्त्रको विस्तार ४ प्रतिशतभन्दा तलै रहने अनुमान छ।
आर्थिक वृद्धिदर सुस्त रहने अनुमानसँगै मुद्रास्फीतिमा पनि उतारचढाव आउने देखिएको छ। सन् २०२५ मा ४.१ प्रतिशत रहेको उपभोक्ता मुद्रास्फीति सन् २०२६ मा घटेर ३.१ प्रतिशतमा झर्ने र सन् २०२७ मा पुनः बढेर ५.८ प्रतिशत पुग्ने आइएमएफको प्रक्षेपण छ।
यसले सन् २०२६ मा महँगीको दबाब केही कम भए पनि त्यसपछिको वर्ष उपभोक्ताले पुनः मूल्यवृद्धिको सामना गर्नुपर्ने जोखिम रहेको संकेत गर्छ। विशेषगरी पेट्रोलियम पदार्थको मूल्यमा हुने वृद्धि र अन्तर्राष्ट्रिय आपूर्ति शृंखलामा देखिने अवरोधले नेपालजस्ता आयातमा निर्भर अर्थतन्त्रलाई प्रभावित पार्न सक्छ।