१७ मंसिरदेखि भैरहवामा लुम्बिनी राष्ट्रिय महोत्सव

मंगलबार, २७ असोज, २०८३
डिजिटल संस्करण

भैरहवा/ सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीले मंसिर १७ देखि २८ गतेसम्म भैरहवामा लुम्बिनी राष्ट्रिय महोत्सव २०८३ गर्ने भएको छ। ‘पर्यटन, उद्योग, कृषि र व्यापार, राष्ट्रिय समृद्धिको आधार’ भन्ने मूल नाराका साथ संघले १०औँपटक महोत्सव आयोजना गर्न लागेको संघका अध्यक्ष नेत्र आर्चायले जानकारी दिए।

रुपन्देहीलाई पर्यटकीय, औद्योगिक तथा व्यापारिक केन्द्रको रूपमा विकास र विस्तार गर्न, यस क्षेत्रका विभिन्न जातजातिका कला, संस्कृति तथा परम्पराको संरक्षण एवं प्रवर्नद्ध गर्न, लुम्बिनी क्षेत्रको आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्न, विभिन्न जिल्लाका मौलिक तथा विशिष्ट पहिचानका वस्तु तथा उत्पादनहरूको प्रदर्शनी तथा प्रवर्द्धन गर्न महोत्सव गर्न लागिएको आचार्यले बताए।

सिद्धार्थनगर नगरपालिका–८ स्थित अञ्चलपुरमा हुने महोत्सवमा यस क्षेत्रका विद्यालयका विद्यार्थी तथा स्टार्टअप उद्योगी व्यवसायीहरूलाई विभिन्न प्रतियोगिता तथा सिर्जनात्मक कार्यक्रममार्फत महोत्सवसँग जोड्ने र आकर्षित गर्ने कार्यक्रमहरू पनि आयोजना गरिने संघले भैरहवामा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ।

विभिन्न उद्योग तथा व्यापारिक प्रतिष्ठान, स्थानीय घरेलु तथा साना उद्योग, महिला उद्यमी तथा व्यवसायीहरूको सहभागिता रहने महोत्सवमा करिब ३ सयवटा स्टल रहने संघले जनाएको छ।

करिब ३ लाख दर्शकले अवलोकन गर्ने महोत्सव अवधिभर करिब १० करोड रुपैयाँबराबरको कारोबार हुने अनुमान गरिएको छ। महोत्सवले स्वदेशी तथा गुणस्तरीय वस्तु तथा सेवाको तुलनात्मक मूल्यबारे जानकारी गराउने तथा स्थानीयस्तरमा उत्पादित घरेलु एवं हस्तकलाका सामग्रीहरूको बजार प्रवर्द्धन गर्ने संघको विश्वास छ।

सुझावित समाचार