छात्रवृत्ति प्रवेश परीक्षामा पाँच हजार एक सय ७२ विद्यार्थी सहभागी

आइतबार, २१ साउन, २०८०
डिजिटल संस्करण

काठमाडौं महानगरले कक्षा ११ का लागि प्रदान गर्ने लागेको छात्रवृत्तिका लागि पाँच हजार एक सय ७२ विद्यार्थी सहभागी भएका छन् । महानगरको शिक्षा विभागले शनिबार प्रवेश परीक्षा सम्पन्न गरेको हो ।

तीन हजार नौ सय १३ जना छात्र र दुई हजार एक सय चार छात्रा गरी ६ हजार १७ जनाले आवेदन दिएका थिए । आवेदकमध्ये तीन हजार चार सय छात्र र एक हजार सात सय ७२ जना छात्रा मात्रै परीक्षामा सहभागी भए । आठ सय ४५ जना गयल भएका छन् । आवेदकमध्ये चार हजार एक सय ५५ जना विज्ञान विषयका थिए ।

यीमध्ये तीन हजार सात सय १३ जनाले परीक्षा दिए । एक हजार चार सय ८४ जना व्यवस्थापन विषय आवेदकमध्ये एक हजार एक सय ८० जनाले परीक्षा दिएका छन् । दुई सय ४५ जना प्राविधिक विषयका आवेदकमध्ये एक सय ७६ जना, ८९ जना कानुन विषयका आवेदकमध्ये ६९ जना, १८ जना मानविकी विषयका आवेदकमध्ये १६ जना र २६ जना शिक्षा विषयका आवेदकमध्ये १८ जना परीक्षामा सामेल भएको शिक्षा विभागले जानकारी दिएको छ । 

१५ वटा केन्द्रमा परीक्षा सञ्चालन भएको थियो । परीक्षा सञ्चालन अनुगमनका लागि उपमेयर सुनीता डंगोल विभिन्न विद्यालयमा पुगेकी थिइन् । कक्षा १० को पाठ्यक्रममा आधारित अनिवार्य गणित, विज्ञान, अंग्रेजी विषयबाट ३०–३० प्रश्न र सामान्य ज्ञानबाट १० वटा प्रश्नका बहुवैकल्पिक उत्तर राखेर वस्तुगत परीक्षा (ओएमआर) लिइएको हो ।

सुझावित समाचार