योग्यता तोक्ने रास्वपा निर्णय विवादमा

शनिबार, २० साउन, २०८०
डिजिटल संस्करण

जान्नेलाई छान्ने नारा लिएको राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रदेखि पालिका तहसम्म विभागका पदाधिकारी र सदस्यहरूको योग्यता तोकेपछि यो निर्णय विवादमा आएको छ । पार्टीभित्र र बाहिर कतिपयले राजनीतिज्ञको शैक्षिक योग्यता तोकिनुलाई हास्यास्पद भनेका छन् । 

रास्वपाको बिहीबार बसेको केन्द्रीय समिति बैठकले केन्द्रीय विभागको पदाधिकारी तथा सदस्य हुन स्नातकोत्तर तह उत्तीर्ण वा सम्बन्धित विषयमा १० वर्ष काम गरेको वा असाधारण सफलता हासिल गरेको हुनुपर्ने मापदण्ड तोकेको छ । त्यस्तै, प्रदेशको विभागको प्रमुख हुन पनि सोही योग्यता तोकिएको छ । पालिका तहका विभागको प्रमुख बन्न भने स्नातक तह उत्तीर्ण गरेको वा सम्बन्धित विषयमा पाँच वर्ष काम गरेको वा असाधारण सफलता हासिल गरेको हुनुपर्ने योग्यता तोकिएको छ । पालिका तहको विभागको सदस्य हुन भने माध्यमिक तह अर्थात् कक्षा १२ सम्म अध्ययन गरेको अथवा दुई वर्ष काम गरेको वा असाधारण क्षमता भएको हुनुपर्ने योग्यता तय गरिएको छ ।

यो निर्णयलाई राजनीतिक विश्लेषक भाष्कर गौतम राजनीतिज्ञको यसरी योग्यता तोकिनु हास्यास्पद भएको बताउँछन् । ‘हाम्रो सन्दर्भमा यो हास्यास्पद कुरा हो । अन्तर्राष्ट्रिय सन्दर्भमा पनि हास्यास्पद हुन सक्छ,’ विश्लेषक गौतमले नयाँ पत्रिकासँग भने, ‘पार्टीभित्र कसले कसरी निर्णय गर्यो, कसरी छलफल भयो त्यो त थाहा भएन । तर, जोसुकैले प्रस्ताव गरेको भए पनि र जसरी छलफल भए पनि यो निर्णयबाट रास्वपाका नेताहरूले शिक्षा र राजनीति दुवै नबुझेको देखियो । किनभने सबै कुरा पढेर सिकिँदैन र सबै क्षेत्रमा डिग्री नै योग्यता हुन सक्दैन ।’

राजनीतिज्ञ बन्न मास्टर्स डिग्री नभएर जनाधार र देशलाई हाँक्ने विचार महत्वपूर्ण हुने उनी बताउँछन् । ‘यो त सहरकेन्द्रित र लोक रिझ्याइँको राजनीतिजस्तो देखियो,’ गौतमले भने, ‘मेरिटोक्रेसी’को आधारमा राजनीति गर्ने र योग्यताचाहिँ डिग्रीलाई तोक्ने । राजनीति डिग्री लिएर गर्ने हो भने संसारमा सबै डिग्रीहोल्डरहरू नेता बन्नुपर्ने हो । तर, समाज यस्तो हुँदैन र यसरी चल्दैन । राजनीति गर्न र समयक्रममा नेता बन्न मान्छेमा हुनुपर्ने गुणबारे चर्चा गर्दा शिक्षा धेरैमध्ये एउटा आवश्यकता हो, तर शिक्षा भन्ने कुरा डिग्री गरेर मात्रै प्रदान हुँदैन भन्ने पक्ष बढी महत्वपूर्ण हो ।’

रास्वपा अहिले ‘मेरिटोक्रेसी’को ट्रयापमा देखिएको उनको विश्लेषण छ । ‘यो ट्रयापले लोकहितको राजनीति गर्न सक्दैन,’ उनले भने, ‘यसरी त पहिले पढ्नुपर्यो अनि डिग्री गरेर मात्रै आवेदन हाल्नुपर्यो भन्ने भयो । जसले रास्वपा खोल्नुभयो, उहाँहरूले चाहिँ कहाँ पढेर कसलाई आवेदन हाल्नुभएको थियो, यसमा जनताले प्रश्न गर्नुपर्ने देखिन्छ । राजनीति गर्न डिग्री होइन, जनाधार र देशलाई हाँक्ने विचार हुनुपर्छ । र, त्यो विचार डिग्री गरेर मात्रै आउँदैन भन्ने कुरा जनताले प्रस्टसँग भन्न सक्नुपर्छ ।’

सामाजिक सञ्जालमा पनि कतिपयले रास्वपाको यो निर्णयमाथि व्यंग्य गरेका छन् । ‘अनि भोट हाल्नलाई के योग्यता अनि कति पढेको, कस्तो असाधारण खुबी भा’को चाहिने रै’छ, त्यो त स्पष्ट भएन त ? कि भोटचाहिँ अनपढकै चल्छ रास्वपा सभापतिज्यू ?’ ट्विटर प्रयोगकर्ता मिनु कँडेलले प्रश्न गरेकी छिन् । 

प्रवक्ता भन्छन्– जान्नेलाई नै छान्ने हो
रास्वपाका महामन्त्री एवं प्रवक्ता मुकुल ढकाल भने पार्टीको विभाग पूर्णतः राजनीतिक प्रकृतिको समिति नभएकाले विज्ञहरूको खोजी गरिएको दाबी गर्छन् । ‘जान्नेलाई छान्ने हाम्रो पार्टीको नारा नै हो,’ उनले भने, ‘रास्वपाको संगठनात्मक ढाँचामा केन्द्रीय समिति, प्रदेश समिति, पालिका समिति र वडा समिति छन् । यी सम्बन्धित तह राजनीतिक प्रकृतिका हुन् र यी समितिको सदस्य हुन चाहिने मापदण्ड भनेको भेला वा अधिवेशनबाट निर्वाचित हुनु हो । यसमा पार्टी सदस्यबाहेक अन्य मापदण्ड तोकिएको छैन । तर, केन्द्रीय समितिअन्तर्गत रहने केन्द्रीय विभागहरू, प्रदेश समितिअन्तर्गत रहने प्रदेश विभागहरू र पालिका समितिअन्तर्गत रहने पालिका विभागहरू विषयअनुसार भएको र पार्टीलाई आवश्यक विज्ञताका लागि यी विभागहरू गठन भएकाले यसमा योग्यता तोकिएको हो ।’

पुराना पार्टीहरूले सामान्य ‘सेन्स’ पनि प्रयोग नगर्दा अहिले रास्वपाको यो निर्णय कतिपयलाई अनौठो लागेको उनको भनाइ छ । ‘पार्टीका विभागहरू पूर्णतः राजनीतिक प्रकृतिका समिति होइनन्,’ उनले भने, ‘पार्टीभित्रै विज्ञ चाहिन्छ भनेर यी विभागहरू गठन भएका हुन् । विषयगत विभागहरूमा विज्ञ नै चाहिन्छ, यो कमन सेन्स हो । हामीले प्रस्ट भनेका छौँ, कि पढेको हुनुपर्यो, कि परेको हुनुपर्यो, कि सम्बन्धित क्षेत्रमा असाधारण सफलता हासिल गरेको हुनुुपर्यो । पुराना पार्टीहरूमा पोर्टफोलियोको आधारमा विभागमा पदाधिकारी र नेताहरू चयन गर्ने प्रचलन रहेछ, उनीहरूले ‘कमन सेन्स’ पनि प्रयोग नगर्दा अहिले कतिपयलाई हाम्रो निर्णय अनौठो लागेको हुन सक्छ ।’ देशका लागि आवश्यक नीति निर्माण गर्न र देशलाई समृद्धिको यात्रामा डोर्याउन यो मापदण्ड आवश्यक रहेको ढकालको जिकिर छ । रास्वपामा हाल अर्थ नीति विभाग, शिक्षा विभाग, स्वास्थ्य विभाग, कृषि विभागलगायत ३६ वटा विभाग छन् ।
 

See More On

सुझावित समाचार