निर्वाचन आयोगको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

शुक्रबार, १९ साउन, २०८०
डिजिटल संस्करण

निर्वाचन खर्च विवरण सार्वजनिक नगर्ने उम्मेदवारलाई आर्थिक जरिवाना गराउने निर्वाचन आयोगको निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । 

सर्वाेच्चका न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको एकल इजलासले शुक्रबार रिट निवेदनको अन्तिम टुंगो नलागेसम्म उक्त निर्णय कार्यान्वयन नगराउन आदेश दिएको हो । 

निर्वाचन ऐनअनुसार निर्धारित समयभित्र निर्वाचन खर्चको विवरण नबुझाउने उम्मेदवारलाई आयोगले जनही १५ हजार रुपैयाँ जरिवाना गराउने निर्णय गरेको थियो । 

तर, मोरङ निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यका लागि हाम्रो नेपाली पार्टीको तर्फबाट उम्मेदवार बनेका विनोदमणि भट्टराईले आयोगको निर्णयविरुद्ध रिट दायर गरेका थिए । 

सर्वोच्च अदालतमा आयोगले गरेको निर्णयले आफूलाई अन्याय परेको भन्दै उनले १५ साउनमा रिट दायर गरेका थिए । 

आयोगले गत ९ साउनमा एक प्रेस विज्ञप्ति जारी गर्दै सार्वजनिक गरेको खर्च विवरणबारे जानकारी नदिएको भन्दै उम्मेदवारहरूको सूची सार्वजनिक गरेको थियो भने १५ हजार जरिवाना गर्ने निर्णय गरेको थियो । 

सुझावित समाचार