प्राकृतिक र धार्मिक महत्वको डोल्पा मुकुटेश्वर क्षेत्र

बुधबार, १७ साउन, २०८०
डिजिटल संस्करण

मुकुटेश्वर क्षेत्र डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका– १ अन्तर्गत पर्दछ । विक्रम शाही महाराज दरबार यसै क्षेत्रमा पर्छ । त्यसैले यसलाई धार्मिक, ऐतिहासिक र पर्यटकीय महत्वको क्षेत्र मानिन्छ । 

यस क्षेत्रमा उच्च गुणस्तरको यार्सागुम्बा तथा विभिन्न जडीबुटी पनि पाइन्छ । सामुद्रिक सतहदेखि करिब चार हजार पाँच सय मिटर उचाइमा रहेको मुकुटेश्वर तीर्थस्थलसम्म पुग्न त्रिपुरासुन्दरी नगरपालिकामा पर्ने त्रिपुराकोटबाट दुई दिनको पैदलयात्रा तय गर्नुपर्दछ । यात्राका क्रममा देखिने गाउँबस्ती, पाखापखेरा, छाँगा–छहराले पर्यटकलाई निकै आकर्षित गर्ने गरेको करेलीकाँडाका स्थानीय ज्ञानबहादुर बुढाले बताए ।

यात्राको पहिलो दिन करेलीकाँडामा वास बस्न सकिन्छ । यस क्षेत्रमा तिब्बती र खस संस्कृति पनि अवलोकन गर्न पाइन्छ । बौद्धमार्गीहरूका प्राचीन गुम्बा, वास्तविक गाउँले जीवन, रहनसहन, भेषभूषा, कला, संस्कृति र हिमाली वनजंगलको अवलोकन गर्न पाइन्छ । मौसम खुलेको समयमा करेलीकाँडाबाट त्रिपुराकोट बजार, लिकु पहाड, हुम, बन्तडी, सुँ, ठूलीभेरी नदी, जुफाल एयरपोर्टलगायत क्षेत्र देखिन्छन् । 

करेलीकाँडामा तितेफापरको लगर, आलुलगायतका विशेष खानेकुराको स्वाद लिन पाइन्छ । करेलीकाँडावासीले पाहुनालाई न्यानो स्वागत गर्ने गरेका छन् । दोस्रो दिन बुकी, लुड्की, डोइली, नर्कालीलगायत प्रजातिका फूलको बास्ना लिँदै प्राकृतिक दृश्यहरू नियाल्दै मुकुटेश्वर र महाराज दरबार क्षेत्रको यात्रा गर्न सकिन्छ । मुकुटेश्वर क्षेत्र पुगेर दर्शन गर्नाले शिव भगवान् प्रसन्न हुने र मनले सोचेको पूरा हुने विश्वास सर्वसाधारणको छ ।

मुकोट हिमालको नामबाट मुकुटेश्वर क्षेत्र नामकरण भएको किंवदन्ती छ । यस हिमालबाट झरेको पानीबाट बनेको तामेगाड खोलालाई पवित्र ताम्रावणी तीर्थस्थलको रूपमा चिनिन्छ । त्रिपुरासुन्दरी नगरपालिकामै पर्ने यस तीर्थस्थलमा वैशाख पूर्णिमा, साउन पूर्णिमा, भदौ पूर्णिमाका दिन भक्तजनहरू स्नानका लागि आउने गरेका छन् । 

सुझावित समाचार