बागलुङको बडिगाड गाउँपालिका– ६ स्थित आशा होटेल एन्ड खाजाघरमा सोमबार राति मृत भेटिएका भीमगिठे इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ नायब निरीक्षक उज्ज्वल पौडेलको हत्या भएको खुलेको छ।
पौडेलको हत्या होटेल सञ्चालक आशा कुँवर र उनका छोरा विनोदको कुटपिटबाट भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिए।
सामान्य विवादको क्रममा होटेल सञ्चालक कुँवरका आमा–छोराले पौडेलको टाउकोमा मुक्का प्रहार गरी छातीमा लात्तीले हानेर बेहोस भएपछि पर्दाको कपडाले घाँटी कसेर हत्या गरेको जिल्ला केसीले जानकारी दिए।
पौडेलको मृत्यु भएपछि उनले घाँटीमा लगाएको सुनको सिक्री निकाली भान्छा कोठाको दराजमा लुगाएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। प्रहरीले ५१ वर्षीया आशा र २० वर्षीय विनोदलाई मंगलबार घटनास्थलबाटै पक्राउ गरेको थियो।
प्रहरीका अनुसार आशा होटेल एन्ड खाजाघरका सञ्चालक आमा–छोराको प्रारम्भिक बयानबाट घटनाको यथार्थ बाहिर आएको हो। खाजाघरमा सोमबार राति ८ः०० बजे गएका पौडेलको ११ः३० हत्या भएको थियो।
हत्यापश्चात् होटेल सञ्चालकले वडाध्यक्षलाई खबर गरेपछि घटना बाहिर आएको थियो। मृतक पौडेलको शव पोस्टमार्टमका लागि मंगलबार साँझ नै गण्डकी स्वास्थ्य विज्ञान प्रतिस्ठान पोखरा लगिएको छ।
सोमबार दिनभर बडिगाड खोलामा बालुवा उत्खननको अनुगमन गरेर फर्केका पौडेल साँझ खारा प्रहरी चाैकीको टोली फिर्ता पठाई इलाका प्रहरी कार्यालय भीमगिठेतर्फ जाने क्रममा उक्त होटेलमा खाजा खान पसेका थिए।