हाम्रो जीवनका लागि विश्राम वा निद्रा अत्यावश्यक छ । मानिसको जीवनको झन्डै एकतिहाइ समय सुतेर बित्छ । तर, विभिन्न कारणले मानिसको निद्रामा गडबडी भइरहेको हुन्छ । लामो अवधिसम्म निद्राको कमी हुँदा विभिन्न शारीरिक समस्या देखिन्छन् । त्यसैले निद्रा बिग्रन नदिन वा गडबडी हुन नदिन हामीले केही विषय ख्याल गर्नुपर्ने हुन्छ ।
के गर्ने ?
- सुत्ने र उठ्ने समय व्यवस्थित गर्नुस् ।
- कोठालाई शान्त र सफा राख्नुस् । सुत्ने कोठा अँध्यारो हुनु राम्रो हुन्छ ।
- सुत्नुअघि नुहाउन सकिन्छ । मनतातो पानीले नुहाउँदा निद्रा राम्रो लाग्छ ।
- निद्रा लगाउने खालका आनन्ददायी संगीत सुन्नुस् ।
- यदि सुत्ने समयमा कुनै कुरा दिमागमा आयो भने यसलाई कागजमा लेख्नुस् । यस विषयमा बिहान भएपछि सोच्नुस् ।
के नगर्ने ?
- दिउँसो नसुत्नुस् ।
- पटक–पटक घडी नहेर्नुस् । खाने र टिभी हेर्नेलगायत काम खाटमा बसेर नगर्नुस् ।
- पेट भारी हुने गरी नखानुस् ।
- सुत्नुअघि कफी नपिउनुस् ।
- सुत्नुअघि मोबाइल, ल्यापटपलगायत नचलाउनुस् । यसले मेलाटोनिन हर्मोनलाई प्रभाव पार्छ र निद्रामा असर गर्छ ।
- अल्कोहल सेवन नगर्नुस् । कतिपयले निद्रा लगाउनका लागि अल्कोहल सेवन गर्छन् । यो राम्रो बानी होइन । अन्ततः यसले हानि गर्छ ।