विमानस्थलबाट सय केजी सुन तस्करी : ६ सदस्यीय छानबिन समिति गठन

बिहिबार, ४ साउन, २०८०
डिजिटल संस्करण
विमानस्थलबाट सय केजी सुन तस्करी : ६ सदस्यीय छानबिन समिति गठन

सय केजी सुन तस्करीका लागि प्रयोग गरिएको बा.२ज २३२४ नम्बरको ट्याक्सी राजस्व अनुसन्धान विभागपरिसरमा।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मंगलबार करिब सय किलो सुन जाँचपास भएको सम्बन्धमा छानबिन गर्न भन्सार विभागले ६ सदस्यीय छानबिन समिति गठन गरेको छ।

भन्सार विभागका प्रवक्ता पुण्यविक्रम खड्काका अनुसार विभागका अनुसन्धान शाखाका निर्देशक मानबहादुर पौडेलको संयोजकत्वमा गठित समितिलाई छानबिनका विभागले पाँच दिनको समयावधि तोकेको छ। 

उनले भने, ‘समितिले सुन ल्याउने पार्टीको गोदाममा थप सामान भए–नभएको, भन्सार प्रक्रियाको त्रुटि, जाँचपासमा खटिएका कर्मचारीले मालवस्तुको एक्सरे परीक्षण गरे–नगरेको, त्यसमा खटिएका कर्मचारी, मालवस्तुको भन्सार मूल्यांकन गर्ने कर्मचारी, पास गर्ने अन्तिम निर्णय गर्ने अधिकारी तथा सिसिटिभी फुटेज इत्यादिको अध्ययन गर्नेछ। आगामी दिनमा यस्ता त्रुटि आउन नदिन गर्नुपर्ने सुधार पनि सिफारिस गर्नुका साथै आवश्यक परे ड्युटीमा रहेका कर्मचारीलाई निलम्बनसमेत गरिनेछ।’ 

विमानस्थलबाट भन्सारसमेत जाँचपास भएर बाहिरिएको करिब सय केजी सुन राजस्व अनुसन्धान विभागले बरामद गरेको छ। मोटरसाइकल/स्कुटरको ब्रेकसु तथा दाह्री काट्ने रेजरमा लुकाएर हङकङबाट तस्करी गरिएको उक्त सुन विमानस्थलस्थित भन्सार कार्यालयअगाडिबाट ट्याक्सीमा लैजान लाग्दा बरामद गरिएको हो।

सुन बरामदपछि अनुसन्धानका क्रममा चारजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा विभागले रेडी ट्रेडका सञ्चालक दिलीप भुजेल, रामकुमार भुजेल, भन्सार एजेन्ट राजेन्द्र राई र ट्याक्सीचालकलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ।
 

सुझावित समाचार