काठमाडौंको शंखमूलमा छोराबुहारीसँग डेरामा बस्दै आएका मोरङ विराटनगरका ६५ वर्षीय मेदनीप्रसाद मैनालीको नियमित सेड्युल हो, युएन पार्क । बागमती नदीको किनारमा अवस्थित युएन पार्कमा पछिल्लो समय उनी नियमित पुग्छन्, साथमा सामसुङको फोन छुट्दैन । सहरमा उनको एक्लोपनको साथी बनेको छ सामाजिक सञ्जाल ।
साँझ तीन–चार घन्टा फेसबुक र युट्युब चलाएपछि मात्र घर फर्कन्छन् उनी । घरमा पनि छोरा, बुहारी र नातिनी सबै आ–आफ्नो मोबाइलमै व्यस्त हुन्छन् । ‘अहिले अनौठो समय आयो बाबु, फेसबुक चलाएन भने अर्कै ग्रहको हुने भइयो,’ शनिबार पार्कमा मोबाइल चलाइरहेका उनी भन्दै थिए, ‘एउटै घरमा छोरा एकातिर मोबाइल चलाउँछ, बुहारी अर्कैतिर । अनि नातिनीचाहिँ आफ्नै तालमा टिकटक बनाइरहेकी हुन्छे । हाम्रो समयमा परिवारभित्र गफ हुन्थ्यो, मान्छेहरू चियाचौतारीमा भेट्थे, दुःख–सुख साट्थे । अहिले त मान्छेहरू मोबाइल र फेसबुकमै व्यस्त छन् । त्यो दुनियाँ अर्कै थियो, अहिले अर्कै भयो । कहिलेकाहीँ सोच्छु– टेक्नोलोजीले मान्छेहरू धेरै अघि भए कि मचाहिँ पछि परेँ !’
त्यसो त यो मैनालीको मात्रै अनुभव होइन, समय डिजिटल पुस्तामा आइपुगेपछि गाउँ–सहरमा भौतिक भेटघाट र गफगाफ पातलिएको छ, मान्छेहरू सामाजिक सञ्जालमै घोत्लिएर संसारसँग साक्षात्कार गर्न व्यस्त छन् । समाजशास्त्री डा.मीना उप्रेती सामाजिक सञ्जालका कारण ‘फेस टु फेस’ सम्बन्धहरू हराउँदै गएको बताउँछिन् । ‘कुनै समय मान्छेहरू भेट हुन्थे, आत्मीयता साट्थे, दु:ख–सुखका कुरा गर्थे, चिया पिउँथे, रमाइलो गर्थे,’ उनी भन्छिन्, ‘तर, अहिले फेस टु फेस सम्बन्ध नै हराउन थाल्यो । हिजो मान्छेहरू शान्त थिए, शान्ति खोज्दै खोलाका किनार र जंगलतिर जान्थे, आफ्नै सुरले गीत गाउँथे, रमाइलो गर्थे । तर, अब त्यो संख्या घट्दै छ । सामाजिक सञ्जालको प्रयोग अहिले यति बढ्यो कि मान्छेहरूबीचको भौतिक भेटघाट र सम्बन्ध नै कम हुँदै गइरहेको छ ।’
समाजशास्त्री प्रकाश राई सामाजिक सञ्जाल अहिले ‘असामाजिक डिभाइस’जस्तो भइरहेको बताउँछन् । मान्छेहरूको सामाजिक सञ्जालमा व्यस्तताका कारण ‘सेयरिङ कल्चर’ नै हराउँदै गएको उनको विश्लेषण छ । ‘अहिले सेयरिङ कल्चर हराउँदै छ । मान्छेहरू सामाजिक सञ्जालका कारण अहिले एकआपसमा बसेर आफ्ना कुरा साट्न छाड्दै छन्,’ उनले भने, ‘सामाजिक सञ्जाल त भनियो, तर यो एकप्रकारले असामाजिक डिभाइसजस्तो भइदियो । मान्छेहरूलाई जोड्नुपर्ने हो, तर अलगथलग बनाइरहेको छ । परिवारमा पाँचजना मान्छे छन् भने पाँचैतिर फर्केर पाँचवटा मोबाइल चलाउँछन् । यसरी त पाँचजना मान्छेलाई जोडेन, अलगथलग पो बनायो । जब यसरी सामाजिक सम्बन्ध कमजोर हुन्छ, मान्छेहरूबीच असामाजिक क्रियाकलाप सुरु हुन्छ । अहिले नेपालमा भइरहेको यही हो ।’

सामाजिक सञ्जालका कारण मान्छेहरूबीच भौतिक संवाद र भेटघाट पातलिँदा मूलतः यसले मानिसहरूबीचको सामाजिक सम्बन्ध कमजोर बनाइरहेको उनको भनाइ छ । ‘जब मानिस–मानिसबीच सामाजिक सम्बन्ध कमजोर हुन्छ, तब समाजमा असामाजिक र अस्वाभाविक व्यवहार देखिन थाल्छन्,’ उनले भने, ‘जस्तै, आत्महत्या, डिप्रेसन । मान्छेहरू आत्महत्या गरिबीले गर्यो भन्छन्, तर त्यो पूर्ण रूपमा सही होइन । गरिबी एउटा कारण हुन सक्छ, तर खासचाहिँ गरिब भएर हेपिनु, मान्छेहरूसँगको सामाजिक सम्बन्ध कमजोर हुँदा यस्तो परिणाम आइरहेको हो । जब मान्छेले आफू गरिब भएका कारण समाजमा विभिन्न खालको नकारात्मक सामाजिक सम्बन्ध झेल्छ, आफूलाई निरीह, तिरस्कृत र कमजोर ठानेर आत्महत्या गर्न बाध्य हुन्छ ।’
समाजशास्त्री उप्रेती नेपालमा सामाजिक सञ्जालको लत बढ्दै जाँदा भौतिक संवाद कम हुँदै गएको बताउँछिन् । ‘मान्छेहरू फेसबुक, इन्स्टाग्राम र टिकटकमा फोटो भिडियो राखेर त्यसमै रमाउन थाले, यसबाटा टाढा हुनै नसक्ने भए । परिवार, साथीभाइ सबै त्यहीँ जोडिए, संवाद पनि त्यहीँ हुन थाल्यो,’ उनले भनिन्, ‘अहिले मान्छेहरूको मन शान्त देखिँदैन, धेरैजसो बेचैनमा देखिन्छन् । जतिखेर पनि उनीहरूलाई हातमा मोबाइल र सामाजिक सञ्जाल चाहिन्छ । लाइक कमेन्ट कुर्दै र गन्दैमा व्यस्त देखिन्छन् उनीहरू । आफूसँग सम्बन्धित नै नभएको विषयमा समेत उनीहरूलाई लाइक र कमेन्ट गर्न हतार छ । तर, आफूले लेख्ने एउटा स्टाटस र कमेन्टले समाजमा कति ठूलो असर गर्न सक्छ, त्यसबारे कमै मान्छे सचेत देखिन्छन् ।’
समाजशास्त्री उप्रेतीले पछिल्लो समय काठमाडौंकै एकजोडी सामाजिक सञ्जालका कारण डिभोर्सको अवस्थामा पुगेको बताइन् । ‘श्रीमान्ले समय नदिने भएपछि घरमा श्रीमतीको समय कटाउने मेलो बनेको रहेछ सामाजिक सञ्जाल,’ उनले नजिकबाट नियालेको एक घटना सम्झँदै भनिन्, ‘जतिखेर पनि मोबाइलमा घोत्लिएको देखेपछि श्रीमान्लाई शंका बढेछ । शंकैशंकाबीच एकदिन अर्कै युवासँग संवाद गरेको च्याट फेला परेछ । त्यसपछि दुवै अहिले डिभोर्सको प्रक्रियामा पुगेका छन् । घरकै मान्छेसँग दूरी राखेर सामाजिक सञ्जालसँग नजिक हुँदा अहिले धेरै सम्बन्ध यसै गरी अप्ठ्यारोमा परिरहेका छन् ।’
मानिसमा बढिरहेको एक्लोपनप्रति गगन थापाको चिन्ता
बिहीबार दिनभर ‘ह्यासट्या माया’ फिल्मको सुटिङमा व्यस्त भएका अभिनेता सारुक ताम्राकारले राति आफ्नै घरको भर्याङको रेलिङमा प्लास्टिकको पाइपको पासो लगाएर आत्महत्या गरे । यो खबरले कलाकारिता जगत् मात्रै नभई, राजनीतिक वृत्तसमेत स्तब्ध देखियो । शनिबार कांग्रेसका महामन्त्री गगन थापाले मन निकै भारी भएको र मस्तिष्क प्रश्नहरूले घेरिएको भन्दै फेसुबकमा एउटा स्टाटस लेखे । जसको आशय सामाजिक सञ्जालको प्रयोगले मानिसमा बढिरहेको एक्लोपन पनि थियो । ‘सामाजिक सञ्जालमा साथीको संख्यासँगै मानिसहरूको एक्लोपन बढेको छ,’ उनले भनेका छन्, ‘मान्छे स्क्रिनसँग बढी निकट हुन थालेको छ । मनका कुरा राख्ने ठाउँ भेट्न छोडेको छ । मानसिक रूपमा संघर्ष गर्दै छु भन्दा लाज मान्नुपर्ने कस्तो समाजको निर्माण गर्यौँ हामीले ? कसैले हिम्मत गरेर मलाई परामर्श चाहिने छ भन्यो भने पनि शुल्कका कारण त्यो सुविधा लिन नसक्ने अवस्था छ । हामीले त्यो अवस्था कदापि आउन दिनुहुन्न । यसमा तपाईं हामी सबैको भूमिका रहन्छ ।’
‘करिअरभन्दा बढी लाइक कमेन्टको चिन्ता’
काठमाडौंको वसन्तपुर या भक्तपुरको दरबार स्क्वायर पुग्ने जोसुकैले युवापुस्ता सामाजिक सञ्जालमा कतिसम्म क्रेजी रहेछ भन्ने स्पष्ट रूपमा थाहा पाउँछ । मान्छे ओहोरदोहोर गरिरहने खुला सडक र मैदानमा उनीहरू विना हिचकिचाहट घन्टौँसम्म टिकटक बनाइरहेका हुन्छन् । शनिबार वसन्तपुरमा एसइई उत्तीर्ण गरेकी कालीमाटीकी रोशनी श्रेष्ठ भेटिइन् । दुईजना साथीहरूसँग टिकटक बनाउन आएकी उनीहरूबीच थप करिअर र कलेजबारे चिन्ता थिएन । बरु गीतअनुसार ‘एक्सप्रेसन’ मिल्यो कि मिलेन, बढी चिन्ता थियो । ‘टिकटक बनाएपछि समय गएको पत्तै हुन्न,’ रोशनी भन्दै थिइन्, ‘दिनमा चारपाँच घन्टा त सोसियल मिडियामा इन्गेज भइन्छ होला । सारा संसार यसमै छ । अब त बरु ब्वाइफ्रेन्डबाट टाढा हुन सकिएला, तर यसबाट सकिन्न ।’
वसन्तपुरनजिकै मोबाइल मर्मत पसल चलाइरहेका अनिल लिम्बू वसन्तपुरमा हरेकदिन युवादेखि वृद्धवृद्धासम्म सोसियल मिडियामा व्यस्त देखिने गरेको बताउँछन् । ‘यो फिल्मको मात्रै होइन, अहिले टिकटकको पनि सुटिङ स्पट नै भइसक्यो,’ उनले भने, ‘नियमित आएर सोसियल मिडियाका लागि भिडियो बनाउने जमात धेरै छ । सँगसँगै काठमाडौं घुम्न आउने देशभरका मान्छे पनि यहाँ आएर छमछमी नाच्दै टिकटक बनाइरहेका हुन्छन् । फेस टु फेस गफगाफभन्दा बढी मान्छेहरू यहाँ सोसियल मिडियामा व्यस्त देखिन्छन् ।’
समाजशास्त्री डा. उप्रेती नेपालमा सामाजिक सञ्जालको लतले युवापुस्ता सबैभन्दा डरलाग्दो स्थितिमा पुगेको बताउँछिन् । ‘धेरैजसो युवायुवती यसको सिकार भइरहेका छन्,’ उनले भनिन्, ‘आफ्नो करिअरतिर केन्द्रित हुनुपर्ने समयमा उनीहरू सोसियल मिडियामा व्यस्त देखिन्छन् । टिकटक, फेसबुक, स्न्यापच्याट, इन्स्टाग्रामलगायत सोसियल मिडियामा युवतीहरूले एकदमै धेरै समय दिन थालेको देखिन्छ । उनीहरूलाई एक दिन टिकटक बनाउन नपाउँदा तनाव हुन्छ । लाइक, कमेन्ट्सको उस्तै तनाव । छिनछिनमा कति लाइक आएछ, कति कमेन्ट आएछ भनेर हेरिरहने ।’
सामाजिक सञ्जालप्रति देखिएको यो लत व्यवस्थापन हुन नसके ठूलो संख्यामा युवापुस्ता मानसिक समस्याबाट गुज्रन सक्ने उप्रेतीको अनुमान छ । ‘यस्तै भइरह्यो भने ठूलो संख्यामा युवा पुस्ता मानसिक समस्याबाट गुज्रिन सक्छ । वेलैमा यसबारे सचेत हुनुपर्ने देखिन्छ,’ उनले भनिन्, ‘यति मात्रै होइन, युवा पुस्तामा ‘मल्टिपल अफेयर्स’ पनि बढेको देखिन्छ । एकैजनाको धेरैजना गर्लफ्रेन्ड–ब्वाइफ्रेन्ड भएको देखिन्छ । अनि भोलि पोल खोलिएपछि द्वन्द्व सिर्जना हुने, डिप्रेसनतिर धकेल्ने काम भइरहेको छ । यति धेरै आइसोलेसन भयो कि अहिलेका युवा सामाजिक हुनै चाहेनन् । टेक्नोलोजीले यस्तो बनाइदियो कि उनीहरू समाज र परिवारसँगै डराउने र भाग्ने भइदिए । करिअरमा ध्यान दिने वेलामा सामाजिक सञ्जालमा बढी अल्झिँदा यस्तो समस्या उत्पन्न भएको हो ।’
सामाजिक सञ्जालले मान्छेलाई जोड्नुपर्ने हो, तर अलगथलग बनाइरहेको छ : प्रकाश राई, समाजशास्त्री
मान्छेहरूबीच भौतिक संवाद र भेटघाट पातलियो भने मूलतः यसले सामाजिक सम्बन्ध कमजोर बनाउँछ । जब मानिस–मानिसबीच सामाजिक सम्बन्ध कमजोर हुन्छ, तब समाजमा असामाजिक र अस्वाभाविक व्यवहार देखिन थाल्छन् ।
अहिले ‘सेयरिङ कल्चर’ हराउँदै छ । मान्छेहरू सामाजिक सञ्जालका कारण एकआपसमा बसेर आफ्ना कुराहरू साट्न छाड्दै छन् । सामाजिक सञ्जाल त भनियो, तर यो एक प्रकारले असामाजिक डिभाइसजस्तो भइदियो । मान्छेहरूलाई जोड्नुपर्ने हो, तर अलगथलग बनाइरहेको छ ।
परिवारमा पाँचजना मान्छे छन् भने पाँचैतिर फर्केर पाँचवटा मोबाइल चलाउँछन् । यसले मान्छेलाई जोडेन, अलगथलग बनायो । जब यसरी सामाजिक सम्बन्ध कमजोर हुन्छ, मान्छेहरूबीच असामाजिक क्रियाकलाप सुरु हुन्छ । अहिले नेपालमा भइरहेको यही हो ।