मृतकका परिवारलाई २१ लाखभन्दा बढीकाे लघु बिमा क्षतिपूर्ति हस्तान्तरण

शुक्रबार, २९ असार, २०८०
डिजिटल संस्करण

सिराहाको लहानस्थित निर्धन लघुवित्त वित्तीय संस्थाले समूहका दुई सदस्य महिलाको मृत्यु भएपछि आश्रित परिवारलाई लघु बिमा क्षतिपूर्तिबापत २१ लाख ३३ हजार तीन सय १२ रुपैयाँको चेक हस्तान्तरण गरेको छ । 

लहान नगरपालिका– १० स्थित ग्रामीण चोक (०७७) महिला समाजका दुई मृतक सदस्यको आश्रित परिवारलाई बिहीबार जनप्रतिनिधि, पत्रकार तथा समूहका सदस्यहरूको रोहवरमा छुट्टाछुट्टै चेक हस्तान्तण गरिएको हो । लहान– २४ शिवचोककी अनिताकुमारी महतोकी आश्रित परिवारलाई १२ लाख २७ हजार दुई सय ५२ रुपैयाँ र लहान– १० की सुनिताकुमारी गैडाको परिवारलाई नौ लाख ६ हजार ६० रुपैयाँको चेक हस्तान्तरण गरिएको लघुवित्तका शाखा प्रबन्धक सुनीलकुमार सिंहले जानकारी दिए ।  

उनका अनुसार ०७७ देखि ०७९ असारसम्म महतोले संस्थाबाट व्यवसाय गर्न लिएको आठ लाख ६० हजार तथा गैडाले ०७७ पुसदेखि ०७८ चैतसम्म लिएको ६ लाख रुपैयाँको ऋणको बिमाबापत रिलायबल तथा नेसनल लाइफ इन्स्योरेन्सले उपलब्ध गराएको बिमा रकम उपलब्ध गराइएको हो । समूहमा असल सदस्यको रूपमा कारोबार गर्दै आएकी महतोको गत वैशाख १२ गते तथा गैडाको ४ फागुन ०७९ मा निधन भएको समूहले जनाएको छ ।  

बिमा रकम हस्तान्तरण कार्यक्रममा जिल्ला समन्वय समिति सिराहाका प्रमुख दिनेशकुमार महतोले समूहमा आबद्ध भई लघु ऋण लिएर स–साना व्यवसाय गरिरहेका सदस्यहरूको भवितव्य, दुर्घटनामा निधन वा क्षति भए आश्रित परिवारलाई उपलब्ध गराइने लघु बिमा रकमले तत्कालका लागि भरथेग हुने भएकाले सदस्य महिलाहरूले बिमाबारे सजग हुनुपर्ने औँल्याए ।

‘ऋण लिने वेलामै त्यसबारे प्रस्ट हुनुस्,’ उनले भने, ‘समूहसँगको कारोबारमा चित्त नबुझे संस्थाका पदाधिकारी वा कर्मचारीहरूसँग कुरा गरेर समाधान खोज्नुस् ।’ त्यसो नगरी कारोबार रोकेर समूहबाट टाढिँदा आफूसहित अन्य सदस्यहरूलाई पनि समस्या हुन सक्ने भएकाले ध्यान दिन उनको आग्रह थियो । 
 

सुझावित समाचार