सरकार कालो धन नियन्त्रणमा पार्टी, ठूलो-सानो, दायाँ-बायाँ केही हेर्दैन : कानुनमन्त्री

आइतबार, १७ असार, २०८०
डिजिटल संस्करण

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले सरकारले अवैध सम्पत्तिलाई नियन्त्रण गर्ने कुरामा हेलचक्र्याईँ नगरेको दाबी गरेका छन्। 

आइतबार प्रतिनिधिसभाको दोसो बैठकमा ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८०’ माथिको सैद्धान्तिक छलफलमा भाग लिने क्रममा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले सो कुरा बताएका हुन्। 

मन्त्री गुरुङले कालो धन, अवैध सम्पत्तिलाई नियन्त्रण गर्ने कुरामा सरकारले ठूलो–सानो, दायाँ, बायाँ केही पनि नहेर्ने समेत स्पष्ट पारे। मन्त्री गुरुङले वित्तिय अनुशासन उल्लंघन गर्नेहरूलाई सरकारले नछोडने पनि दोहोर्याए। 

मन्त्री गुरुङले भने, ‘कालो धन, अवैध सम्पत्तिलाई नियन्त्रण गर्नुपर्ने कुरामा दुई मत रहेन। यसको हेलचक्र्याईँ भइरहेको सन्दर्भ उठेको छ। पटक्कै हेलचक्र्याईँ गर्न खोजिएको छैन। माथि होस् कि तल। दायाँ होस कि बायाँ कोही पनि पीडकलाई छोडनुहुन्न। यदि हामी न्यायको पक्षमा उभिन्छौँ भने, यदि हामी पीडितको पक्षमा उभिन्छौँ भने माथिलाई छोड्ने तललाई समात्ने हुँदै होइन। सरकार अहिले त्यही बाटोमा अघि बढिराखेको छ। ठूलो, सानो हामी हेर्दैनौँ। अनुहार पनि हेर्दैनौँ। राजनीतिक पार्टी पनि हेर्दैनौँ।’

सुझावित समाचार