भरतपुर महानगरपालिकाको रामनगरमा श्रमदानबाट साढे सात किलोमिटरको दूरीमा रहेको मगर खहरे खोलाको पानी ल्याइएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले श्रमदानको सुरुवात गरेको झन्डै ६० दिनमा खोलाको पानी रामनगर आइपुगेको हो । यसबाट दुई दशकपछि यो क्षेत्रमा पुरानो संरचनाबाट खानेपानीको समस्या हल हुने भएको छ ।
०४९ चैतमा जाइका कम्पनीले खानेपानी विस्तार आयोजनाको सुरुवात गर्दा भरतपुरको रामनगर, ठिमुरा र देवघाट क्षेत्रका बासिन्दालाई खानेपानी वितरण गर्थ्यो । तर, ०६० को बाढीपहिरोले भौतिक संरचनामा क्षति पुर्याएपछि यो क्षेत्रमा खानेपानीको समस्या सिर्जना भएको थियो । ‘बाढीपहिरोले खानेपानी ट्यांकीमा समस्या सिर्जना भयो । सामानहरू हराउन र चोरी हुन थाले । अहिले सोही ठाउँमा सरसफाइ गर्दै खानेपानी ल्याएका हौँ । बिहान–बेलुका पानी त आउँथ्यो, तर प्राप्त थिएन,’ स्थानीय भोलादेवी कुँवरले भनिन्, ‘सरकारी धाराबाट नियमित पानि नआउँदा इनारको पानी खान बाध्य थियौँ । त्यो पनि बर्खामा सुक्थ्यो । अब त २४सै घन्टा पानी आउँछ । किनेर खानुपर्दैन ।’ ल्याइएको पानी अहिले सञ्चालनमा रहेको ट्यांकीमार्फत वितरण सुरु भइसकेको छ ।
भरतपुर महानगरपालिका–१ अन्तर्गत पर्ने रामनगरका बासिन्दाले शुद्ध पानी पिउन नपाएको गुनासो गरेपछि सांसद लामिछानेले गत १२ वैशाखमा रामनगरमा खानेपानी व्यवस्थापनका प्रतिनिधि र स्थानीयहरूसँग छलफल गरेका थिए । लगत्तै उनले बाढीपहिरोले बिग्रिएको रामनगरस्थित नारायणगढ–मुग्लिन सडकखण्डछेउमै रहेको पुरानो पानीट्यांकीको जानकारी पाएँ । आफैँ फिल्डमा उत्रिँदै श्रमदानमार्फत अभियानलाई अगाडि बढाएँ ।
जुगेडीमाथि डाँडामा रहेको खानेपानीको मुहानको सरसफाइपछि स्थानीय र सशस्त्र प्रहरी बलको टोलीको समेत श्रमदानमा पानी रामनगर आएको हो । मंगलबार लामिछानेले खानेपानीको समुद्घाटन गर्दै पानी आएको घोषणा गरेका थिए । कार्यक्रममा सहभागी भएकाहरूले सामूहिक रूपमा पानी पिउने र पानीमा भिजेर खुसी आदानप्रदान गरे । कार्यक्रममा स्थानीयको बाक्लो उपस्थिति थियो ।
पानी ल्याउन श्रमदानमा दैनिक एक सयभन्दा बढी मानिसको उपस्थिति रहेको रामनगर–ठिमुरा–देवघाट–जुगेडी–भतेरी खानेपानी उपभोक्ता समितिका अध्यक्ष तुलसीराम श्रेष्ठले बताए । उनका अनुसार यो पानीबाट तीन हजार घरधुरी लाभान्वित हुनेछन् । पानी ल्याउन पाइप, आवश्यक उपकरणलगायतका सामान खरिद गर्दा एक करोड खर्च भएको छ ।