प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले बजेट पुस्तिकामा भएका त्रुटिहरू तत्काल सच्याउन सरकारलाई निर्देशन दिएका छन्।
मंगलबार १५ मिनेट स्थगित भई बसेको प्रतिनिधिसभा बैठकमा उनले सहरी विकास मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका बजेट पुस्तिकामा केही त्रुटि भएको उल्लेख गर्दै सच्याउन निर्देशन दिएका हुन्। यसअघि बसेको बैठकमा एमालेका सांसदहरूले लुम्बिनी प्रदेशको नाम नराखी प्रदेश ५ राखेर सहरी विकास मन्त्रालयको विनियोजन शीर्षक छलफलका लागि आएको भन्दै त्यसलाई नसच्याएसम्म छलफल अघि बढ्न नदिने अडान लिएका थिए।
‘हामी विनियोजन विधेयकअन्तर्गत विभिन्न मन्त्रालयगत छलफलमा छौँ । सम्बन्धित मन्त्रालयहरूबाट वार्षिक रूपमा सम्पादन हुने कार्यक्रम समावेश पुस्तिका उल्लेखित केही विषयहरू खासगरी प्रदेश सभाबाट पारित प्रदेशको नाम उल्लेख हुनुपर्नेमा सो नभएको विषयमा ध्यानाकर्षणसहित सच्याउनका लागि यसअघि निर्देशन भइसकेको छ । साथै, त्यस्ता कुनै त्रुटिहरू भएमा तत्काल सच्याउन म पुनः निर्देशन गर्दछु,’ उनले भने।
एमाले सांसदहरूले अवरोध गरेपछि यसअघि बसेको प्रतिनिधिसभा बैठकमा सहरी विकासमन्त्री सीता गुरुङले सो विनियोजन शीर्षकमा केही त्रुटि भए सच्याउने प्रतिबद्धता व्यक्त गरेकी थिइन्।