नागरिकताको पर्खाइमा ७४ वर्षीय मोटे तामाङ

बिहिबार, ३२ जेठ, २०८०
डिजिटल संस्करण
नागरिकताको पर्खाइमा ७४ वर्षीय मोटे तामाङ

नागरिकताको पर्खाइमा रहेका धुनीवेशी नगरपालिका–७ चिसापानीका ७४ वर्षीय मोटे तामाङ र उनको अस्थायी टहरा। तस्बिर : अर्जुन श्रेष्ठ/नयाँ पत्रिका

टिनको छानो टिनकै बार। छेउमै छरछिमेकीले खोजिदिएको दाउराको चाङ। बोरामा थोरै अन्नपात, गाग्री र केही पानीका बोत्तलहरू। चुलोछेउमै फलेक बिछ्याएर बनाएको सुत्ने बिस्तारा। 

यो सानो छाप्रो धुनीबेँसी नगरपालिका– ७ चिसापानीका ७४ वर्षीय मोटे तामाङको संसार हो। उनी भन्छन्, ‘अरूकै भरमा बाँचेको छु। न मेरा कोही छन्, न नागरिकता छ। बाँच्ने आधार रहुन्जेलको दुई मुठ्ठी सास मात्रै हो।’

उनले थपे, ‘७४ वर्षको भएँ। डाँडापारिको घाम हुँ। कतिखेर कालले लान्छ पत्तै छैन। तर, अहिलेसम्म मेरो नागरिकता बनेको छैन। नागरिकता नबन्दा बुढेसकालमा सरकारले दिने भत्ता पनि पाएको छैन।’ 

उनी गएको सात–आठ वर्षदेखि आँखा पनि देख्दैनन्। कमाउन त परको कुरा माग्न जान पनि उनी सक्दैनन्। नगरपालिका र छिमेकीले उनको रासनपानीको जोहो गरिदिएका छन्। उनले भने, ‘उहाँहरूले नागरिकता पनि बनाइदिन्छौँ भन्नुभएको छ।’

जन्म दिने आमाबुबा गुमाएका उनले विवाह पनि गरेनन्। दिदी-बहिनी पनि बितिसके। अब नागरिकता बनेर वृद्धभत्ता पाए मात्रै आफू बाँच्ने आधार हुने उनले बताए।

उनी सामाजिक सुरक्षा भत्तालगायत सरकारी सेवाको पर्खाइमा छन्। उनको कष्टकर दैनिकी सहज बनाउन नागरिकता बाधक बनेको छ। उनको बसाइ लेकमा छ। नागरिकता बनाउन उनी प्रशासन पुग्न सक्दैनन्, प्रशासन पनि गाउँ पुगेको छैन। उनको जीवन दयनीय बन्दै गइरहेको छ।

‘वेला–वेला मेयर र उपमेयरले पनि नुन, तेल चामल लिएर आउँछन्। जितबहादुर, बुद्धिमान र जयबहादुरलगायत छरछिमेकीले खाद्यान्न तथा तरकारी ल्याइदिरहन्छन्। दाउरा पनि खोजेर राखिदिएका छन् । पानी पनि ल्याएर सधैँ एकै ठाउँमा राखिदिन्छन्। आँखा देख्दिनँ, छिमेकीले ल्याइदिएका खानेकुरा छामछामछुमछुम गरेर बनाउँछु,’ उनले भने।

अरूकै जग्गामा अस्थायी टहरा र अरूकै भरमा बाँचेका तामाङसँग समस्याको चाङ नै छ। नागरिकता नबनेकै कारण मोटे तामाङ सरकारले दिने सेवा सविधाबाट वञ्चित छन्। तर, नागरिकता बनाइदिने प्रयास भइरहेको धुनीबेँसी नगरपालिकाका नगरप्रमुख बालकृष्ण आचार्य बताउँछन्।

‘उहाँको नागरिकता पहिले बनेको छ कि छैन त्यो छलफल भइरहेको छ,’ उनले भने, ‘उहाँले कहिले एउटा नाम भन्नुहुन्छ कहिले अर्काे। नाम यही हो भन्ने पक्का नहुँदा यसभन्दा पहिले नागरिकता बनेको हेर्न पनि गाह्रो भएको छ। प्रशासनमा उहाँको नागरिकता बनाइदिने एक चरण सल्लाह भइसकेको छ। वडामा मुचुल्का गरेर गाउँमै पुगेर नागरिकता दिने व्यवस्था मिलाउँदैछौँ। केही साताभित्रमा उहाँको हातमा नागरिकता पुग्छ।’

त्यस्तै, वृद्धवृद्धा तथा अपांगता भएकाहरूका लागि गाउँमै पुगेर नागरिकता दिन सकिने धादिङका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेले बताए।

स्थानीय सरकारले कागजपत्र तयार गर्नुपर्छ। ‘प्रक्रिया पूरा भएकालाई नागरिकता दिन समस्या छैन। नागरिकता लिनेलाई प्रशासनमै ल्याउन पनि सकिने भयो। तर, ल्याउन सम्भावना छैन भने गाउँमै गएर नागरिकता दिन सकिन्छ। प्रक्रिया पूरा भए उहाँलाई नागरिकता दिन हामी गाउँमै जान्छौँ,’ उनले भने। 

सुझावित समाचार