मधेसका मुख्यमन्त्रीले दोस्रोपटक पाए शतप्रतिशत मत

बुधबार, ३१ जेठ, २०८०
डिजिटल संस्करण

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले दोस्रोपटक प्रदेश सभामा उपस्थित सांसदहरूको शतप्रतिशत विश्वासको मत पाएका छन् । मंगलबार बेलुका बसेको प्रदेश सभा बैठकमा यादवलाई प्रमुख प्रतिपक्षी दल एमालेसहित सभामा उपस्थित सबै दल र स्वतन्त्र सांसदहरूले विश्वासको मत दिएका छन् । 

मंगलबार प्रदेश सभामा उपस्थित एक सय तीनजना सांसदले यादवलाई विश्वासको मत दिएको प्रदेश सभामुख रामचन्द्र मण्डलले घोषणा गरे । गत १ जेठमा एमालेले समर्थन फिर्ता लिएपछि संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री यादवले दोस्रोपटक विश्वासका मत लिएका हुन् । सत्ता साझेदार दल वा समर्थन गरेको कुनै पनि दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र सरकारले विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । 

गत २९ पुसमा जनता समाजवादी पार्टीका संसदीय दलका नेता यादवलाई एमाले, माओवादी, जनमत र दुई स्वतन्त्र सांसदको समर्थनसहित प्रदेश प्रमुख हरिशंकर मिश्रले मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । तर, केन्द्रमा गठबन्धन फेरिएपछि एमालेका मन्त्रीहरूले राजीनामा दिएका थिए । गत १ जेठमा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएका थिए । यसअघि ४ फागुनमा प्रदेश सभाबाट पनि मुख्यमन्त्री यादवले शतप्रतिशत विश्वासको मत पाएका थिए । प्रदेश सभामा एक सय सातजना सांसद रहेकोमा बहुमतका लागि ५४ मत आवश्यक पर्छ ।
एमाले संसदीय दलका नेता सरोज यादवले संघीयतालाई बलियो र संस्थागत बनाउन मुख्यमन्त्रीलाई दोस्रोपटक विश्वासको मत दिएको बताए । 

मुख्यमन्त्री सरोजकुमार यादव भन्छन्–सबैलाई विश्वासमा लिएर अगाडि बढ्छु
सरकार ‘सबका साथ सबका विश्वास’को साथ अगाडि बढ्छ । प्रदेशमा भ्रष्टाचार न्यूनीकरण गर्न संयन्त्र निर्माण गरी चाँडै कार्यान्वयनमा आउनेछ । आगामी आर्थिक वर्षका लागि जनमुखी बजेट ल्याउने र त्यसमा सत्तापक्ष र विपक्षबीच भेदभाव हुनेछैन । प्रदेश सभामा रहेका सबै दललाई विश्वासमा लिएर अघि बढ्छु ।

सुझावित समाचार