नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाई ठगी गरेको अभियोगमा हिरासतमा रहेका अभियुक्तको पक्षमा आइतबार पनि थुनछेक बहस जारी रह्यो । कानुन व्यवसायीले प्रतिवादीको पक्षमा काठमाडौं जिल्ला अदालतमा बहस गरिरहेका छन् । आइतबार उनीहरूले तत्कालीन गृहसचिव टेकनारायण पाण्डे र पूर्वमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीका तर्फबाट बहस गरे । उनीहरूले दुवैजनालाई थुना वा धरौटीमा नराखी साधारण तारेखमा राख्नुपर्ने इजलाससँग माग गरे ।
सरकारी पक्षले तत्कालीन सचिव पाण्डेले नक्कली शरणार्थी बनाउने नाममा रकम माग्दै हिँडेको, समूहसँग पैसा लिएको र खातामा जम्मा गरेको आरोप लगाए पनि त्यो निराधार रहेको कानुन व्यवसायीको दाबी थियो । अधिवक्ता राम घिमिरेले अभियोजनमा उल्लिखित रकम पाण्डेले कर्मचारी सञ्चय कोषबाट लिएको जिकिर गरे । उनले जाहेरीमा जबर्जस्ती नाम जोडेर आफ्नो पक्षलाई बदनाम बनाइएको तर्क गरे । ‘जसको जिम्मामा प्रतिवेदन हुन्छ, सुरक्षाको जिम्मा हुन्छ, त्यो व्यक्तिलाई यो मुद्दामा प्रतिवादी बनाइएकै छैन,’ घिमिरेले भने । अन्य कानुन व्यवसायीले पनि पाण्डेविरुद्ध ठगी पुष्टि नहुने भएकाले यस प्रकरणसँग जोडिएका अन्य मुद्दामा पनि स्वतः संलग्नता नदेखिने जिकिर गरेका थिए । केशव दुलालसँग भएको संवादको केही अंशका आधारमा आफ्नो पक्ष अर्थात् सचिव पाण्डेउपर अभियोग लगाइएकाले उनलाई साधारण तारेखमा रिहा गर्नुपर्ने उनीहरूको माग थियो ।
प्रतिवादीहरूको गुनासो : थुनामा अमानवीय व्यवहार भयो
अनुसन्धानका क्रममा थुनामा रहेका प्रतिवादीले आफूमाथि प्रहरीले अमानवीय व्यवहार गरेको आरोप लगाएका छन् । इजलासमा उनीहरूले न्यायाधीशसामु गुनासोसमेत गरे । आफूहरू अनुशासित भए पनि प्रहरीले अमानवीय व्यवहार गर्नुका साथै स्वास्थ्य र धार्मिक स्वतन्त्रता उपभोग गर्न पाउने अधिकारबाट वञ्चित राखेको उनीहरूले बताएका थिए । थुनामा रहेकामध्ये एक टेकनाथ रिजालले थुनामा आफ्नो स्वास्थ्य अवस्थाको ख्याल नगरिएको बताए ।
‘पहिले दरबारमार्ग प्रहरीमा राख्दा हामीसँग माथिल्लोदेखि तल्लो तहका प्रहरीको व्यवहार राम्रै थियो । हामी पनि उत्तिकै अनुशासित थियौँ । तर, अचानक टेकु ल्याइयो । त्यहाँका प्रहरीचाहिँ निकै अमानवीय व्यवहार गर्ने रहेछन्,’ इजलाससामु ७५ वर्षीय शरणार्थी नेता रिजालले भने । आफूलाई दमको रोग रहेको अवस्थामा भिडमा बस्नुपर्ने, सुत्नुपर्ने हुँदा समस्या बढेको उनको भनाइ छ ।
‘खानाको, दबाइको, सुत्ने ठेगानसमेत छैन । सास लिन गाह्रो भयो भनेर दम बढेका वेला ओछ्यानमा एकछिन बसेको प्रहरी आएर सुत् भन्छ । हल्लिन पनि दिँदैन, मुभमेन्ट गर्ने ठाउँ पनि छैन,’ उनले थपे । टेकुमा थुनामा बढी संख्यामा कैदी राखिएकोप्रति उनले गुनासो गरेका थिए । त्यहाँ हाल एक सय ३० भन्दा बढी व्यक्ति थुनामा छन् ।
थुनामै रहेकामध्ये नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँले पनि उस्तै गुनासो गरे । धार्मिक स्वतन्त्रता नदिइएको उनको गुनासो थियो । ‘थुनामा खुट्टा राख्ने ठाउँ छैन । हामीलाई के कारणले दरबारमार्गबाट टेकुु पु¥याइयो ? आफ्नो धर्म मान्न नदिने ? म दिनको पाँचपटक नमाज पढ्ने मान्छे । दरबारमार्गमा त्यसका लागि छुट्टै कोठा थियो । यहाँ त बस्ने ठाउँ पनि छैन,’ उनले भने । मियाँले टेकुको पानी स्वस्थकर नभएकोसमेत गुनासो गरे । नुहाउने ठाउँसमेत नभएकोजस्ता विषयमा उनले न्यायाधीश प्रेमप्रसाद न्यौपानेलाई जानकारी गराएका थिए । त्यसपछि न्यायाधीश न्यौपानेले उक्त परिसरका प्रमुखलाई बोलाउन लगाए । तर, ढोकामा रहेका प्रहरीले उनी नरहेको जानकारी गराएसँगै न्यायाधीश न्यौपानेले आफूले परिसर नेतृत्वसँग कुरा गर्ने आश्वासन दिए । न्यायाधीश न्यौपानेले ढोकामा रहेका प्रहरी र थुनामा रहेका प्रतिवादीलाई भने, ‘तपाईंहरू मानवीय व्यवहार गर्नुस् न ! म उहाँहरूसँग (प्रहरीसँग) कुरा गर्छु ।’ मियाँ र रिजालसहितका चार प्रतिवादीलाई शनिबार दिउँसो टेकु सारिएको हो । जसमा नरेन्द्र केसी र सन्देश शर्मा पनि छन् ।
वकिलहरूलाई उपस्थित भइदिन आदेश
प्रतिवादीहरूका कानुन व्यवसायीका पक्षमा बुधबारदेखि थुनछेक बहस चलिरहेको छ । हिरासतमा रहेका सबै प्रतिवादीका कानुन व्यवसायीलाई इजलासले बहस सक्न ६ दिनको समय दिएकोमा उनीहरू आइतबार उपस्थित नभएपछि न्यायाधीशले बहसमा उपस्थित रहन आदेश दिएका छन् । सामान्यतया ६ बजेसम्म चल्ने इजलास आइतबार भने साढे ४ मै उठेको थियो । प्रतिवादीहरू सन्दीप रायमाझी र टेकनारायण पाण्डेका तर्फबाट कानुन व्यवसायीहरूले बहस सकेपछि रोस्ट्रम एकछिन खाली भयो । अरू वेला एकजनाको बहस सकिएलगत्तै अर्को कानुन व्यवसायी तयारीमा हुन्थे र बहस गर्थे । तर, कोही नआएपछि न्यायाधीश प्रेमप्रसाद न्यौपानेले अन्य कोही छन् कि भनेर सोधे । तर, कसैबाट जवाफ आएन । एक अधिवक्ताले भने पाण्डेसहितका दुईजनाका तर्फबाट एकजना वरिष्ठ अधिवक्ताले नै बहस गर्ने भएकाले सोमबार बहस गर्ने जानकारी गराए ।
त्यसपछि न्यायाधीश न्यौपानेले नरेन्द्र केसीका कानुन व्यवसायीलाई बहस गर्न आग्रह गरेका थिए । तर, केसीले भने, ‘मेरो वकिल चितवन हुनुहुन्छ । आउँदै छु भन्नुहुन्थ्यो, बाटोमा हुनुहुन्छ । आज बहस नहुने भयो ।’ त्यसपछि अर्का प्रतिवादी गोविन्दकुमार चौधरीका कानुन व्यवसायीलाई बहस गर्न आग्रह गरे पनि उनले इजलासलाई आफ्नो कानुन व्यवसायी नभएको जानकारी गराए । आफ्नो कानुन व्यवसायी पालो नआउने भन्दै निस्किएको र सोमबार बहस गर्ने उनले बताए ।
न्यायाधीश न्यौपानेले हरिभक्त महर्जनका तर्फबाट प्रतिरक्षा गर्ने कानुन व्यवसायी रहे–नरहेको सोधे । तर, उनले पनि आफ्नो कानुन व्यवसायीले ‘आज पालै आउँदैन’ भनेर हिँडेको बताए । त्यसपछि पुनः इजलासले अर्की प्रतिवादी लक्ष्मी महर्जनलाई आग्रह गरे । उनीहरू दुवै पति–पत्नी हुन् । उनले पनि आफ्नो वकिल नरहेको बताएकी थिइन् । त्यसपछि भने न्यायाधीश न्यौपानेले इजलासमा उपस्थित सबै कानुन व्यवसायीलाई बहसको अन्तिमसम्म रहन आग्रह गरे । ‘तपाईंहरूसँगै सहमति गरेर निर्धारण गरेको समय होइन र ? तोकिएको समयसम्म बस्नुपर्छ । म मंगलबारपछि बस्दिनँ । त्यतिवेलासम्म सक्ने हो । म निरन्तर बसिरहेको छु । म दुई हात जोडेर रिक्वेस्ट गर्छु,’ उनले भने ।
इजलासले सरकारी पक्षलाई तीन दिनको र प्रतिवादीलाई थुनछेक बहस गर्न ६ दिनको समय दिएको थियो । न्यायाधीश न्यौपानेले आफूले दिनहुँ ११ देखि ६ बजेसम्म निरन्तर बहस सुनिरहेको र कानुन व्यवसायीबाट पनि सोही अपेक्षा गरेको बताएका थिए । जसपछि उनले सोमबार ११ बजे पुनः इजलास बस्ने गरी इजलास उठेको जानकारी गराएका थिए ।