बालयौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका ‘शुभद्रा–मदन फाउन्डेसन’ (शुभम्)का संरक्षक एवं कृषिविज्ञ मदन राईलाई थप अनुसन्धानका लागि सात दिन हिरासतमा राख्न प्रहरीलाई जिल्ला अदालत खोटाङले अनुमति दिएको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका– २ सोल्मामा सञ्चालित शुभम् फाउन्डेसनमा आवासीय रूपमा बसेर पढ्ने बालिका र किशोरीहरूलाई यौन दुर्व्यवहार गरेको आरोपमा गत शुक्रबार फाउन्डेसनबाटै प्रक्राउ परेका राईमाथि अदालतले आइतबार सात दिनको म्याद थप गरेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो।
पक्राउपछि प्रहरी हिरासतमा रहेका संरक्षक राईमाथि एक पीडितले बालयौन दुर्व्यवहारसम्बन्धी कसुरअन्तर्गत दिएको उजुरीसमेत दर्ता गरेर कारबाहीको प्रक्रिया थालिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक मञ्जिल मुकारुङले जानकारी दिए। ‘अहिले अनुसन्धानको क्रममा भएकाले केही भन्न सकिने अवस्था छैन। अनुसन्धानपछि थप पुष्टि हुँदै जानेछ। बाँकी तीनजाले पनि लिखित उजुरी दिने बताएका छन्,’ उनले भने।
कुटोकोदालोदेखि कम्प्युटरसम्म पढाइ हुने भनिएको विद्यालयको संरक्षक राईले आफूहरूको संवेदनशील अंगमा हात हाल्ने, शारीरिक सम्पर्कका लागि आग्रह गर्ने, आफ्ना गोप्य अंगमा छुन लगाउने, नग्न शरीर देखाएर अश्लील हर्कत गर्नेलगायतका आरोपसहित पीडित पक्षले मौखिक उजुरी दिएको प्रहरीले बताएको छ। संरक्षक राईलाई प्रहरीले पक्राउ गरेर हिरासतमा राखेर अनुसन्धान सुरु गरेपछि मौखिक उजुरी दिनेहरूलाई किटानी जाहेरी दिन कार्यालयमा बोलाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक बेनु कार्कीले जानकारी दिए।
७५ वर्षीय राईले विगत केही वर्षदेखि सामाजिक सञ्जालमा अश्लील शब्द प्रयोग गरेर स्टाटस लेख्दै आएका थिए। यौन शिक्षाको नाममा सामाजिक सञ्जालमा अश्लील शब्द प्रयोग गरेको विषयमा संरक्षक राईको चौतर्फी आलोचना हुँदै आएको थियो।
फाउन्डेसनमा अध्ययनरत बालिका तथा किशोरीहरूमाथि संरक्षक राईबाटै यौन दुर्व्यवहार भएको खबर शुक्रबारदेखि विभिन्न सञ्चारमाध्यममा आइरहेका छन्। समाचार आएपछि बालिका तथा किशोरीहरूले लगाएको आरोप ४० प्रतिशत सत्य रहेको संरक्षक राईले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिएका थिए।