सातौँ चितवन अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी–२०८० भरतपुरको चितवन प्रदर्शनी केन्द्रमा सुरु भएको छ । औद्योगिक प्रदर्शनीको संघीय सरकारका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले उद्घाटन गरेका हुन् ।
प्रदर्शनी उद्घाटन गर्दै मन्त्री रिजालले स्वदेशी लघु, घरेलु उद्योगलाई प्रवर्द्धनका लागि औद्योगिक प्रदर्शनी महत्वपूर्ण माध्यम बनेको बताए । ‘यस्ता प्रदर्शनीले साँच्चै स्वदेशी उद्योगको प्रवर्द्धनमा टेवा पुग्छ,’ उनले भने, ‘प्रदर्शनीका माध्यमबाट उद्यमीहरूलाई आधुनिक प्रविधि अनुसरण गरी औद्योगिक उत्पादकत्व वृद्धिका लागि प्रोत्साहन गर्छ ।’ मन्त्री रिजालले यस्ता प्रदर्शनीहरूका माध्यमबाट सुस्ताएको अर्थतन्त्रलाई गतिशील बनाउनसमेत सहयोग पुग्ने बताए । प्रदर्शनीमा रहेका प्रविधिहरूको अनुसरण गरेर स्वदेशी उत्पादन वृद्धिका लागि उद्यमीलाई प्रेरणासमेत दिने उनको भनाइ थियो ।
प्रदर्शनी आयोजक चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेलले मागमा आएको उच्च संकुचनका बाबजुद आर्थिक गतिविधिलाई चलायमान बनाउने, उत्पादन वृद्धिमा सहयोग गर्ने उद्देश्यले प्रदर्शनी आयोजना गरिएको बताए । प्रदर्शनीमा स्वदेशीसहित भारतका उद्योग तथा प्रविधिहरू रहेको उनको भनाइ थियो । प्रदर्शनीमा स्वदेशी उद्योगीहरूलाई विभिन्न निकायको प्रवर्द्धन सहयोगमार्फत पूर्ण तथा आंशिक छुटसहितका स्टलहरू उपलब्ध गराइएको उनले बताए ।
कार्यक्रममा नेपाल उद्योग परिसंघका वरिष्ठ उपाध्यक्ष राजेशकुमार अग्रवालले अर्थतन्त्रमा देखिएको संकुचनका कारण उद्यमशीलतामा छाएको सुस्तता यस्ता प्रदर्शनीका माध्यमबाट प्रेरणा जगाई अर्थतन्त्रलाई चलायमान बनाउने कोसिस भएको भन्दै शुभकामना दिए । अर्थतन्त्र निकै चुनौतीपूर्ण अवस्थामा रहेकाले निजी क्षेत्रको मनोबल बढाउने गरी काम गर्न उनले सरकारलाई आग्रह गरे ।
कार्यक्रममा नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष उमेशप्रसाद सिंहले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीहरूलाई एउटै छानामुनि ल्याई आयोजना गरिएको प्रदर्शनीले अर्थतन्त्रमा आएको शिथिलता तथा पलायन हुन लागेको उद्यमशीलतामा उत्साह थप्ने विश्वास व्यक्त गरे । लाखौँ रुपैयाँ खर्च गरेर प्रविधि अवलोकनको लागि बिदेसिनुपर्ने अवस्थाको अन्त्य गर्नका लागि प्रदर्शनीको ठूलो योगदान रहेको उनको भनाइ थियो ।
प्रदर्शनीको दोस्रो दिन नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ‘वर्तमान औद्योगिक परिदृश्य, नेपालमा औद्योगिक विकासको सम्भावना र अवसर’ र नेपाल उद्योग परिसंघले ‘मेक इन नेपाल स्वदेशी अभियान’ विषयमा गोष्ठी तथा सेमिनार आयोजना गर्ने जनाइएको छ । स्वदेशी लघु, घरेलु तथा साना उद्योगहरूको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको प्रदर्शनीमा औद्योगिक मेसिनरी र प्रविधिसहित निर्माणजन्य, कृषिजन्य, फर्निचर, इन्जिनियरिङ एवं अन्य सेवामूलकसमेत गरी एक सय १० वटा स्टल राखिएको छ । प्रदर्शनी वैशाख २४ गतेसम्म सञ्चालन हुनेछ ।