काठमाडौं / सिटिजन्स क्यापिटल लिमिटेडको निष्कासन तथा बिक्री प्रबन्धकमा हिम पर्वत हाइड्रोपावर लिमिटेडले प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेको छ।
कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित दरका ५९ लाख १५ हजार कित्ता साधारण सेयर निष्कासन गर्नेछ। उक्त सेयरको कुल मूल्य ५९ करोड १५ लाख रुपैयाँबराबर रहेको छ। कम्पनीले आइपिओ निष्कासनका लागि २०८३ असोज २० गते नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेको हो।
पछिल्लो केही महिनायता आइपिओ निष्कासनका लागि अनुमति पाउने पहिलो कम्पनीका रूपमा हिम पर्वत हाइड्रोपावर रहेको छ। यसको निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी सिटिजन्स क्यापिटल लिमिटेडले पाएको छ।
अनुमतिपछि सिटिजन्स क्यापिटल लिमिटेडमार्फत हिम पर्वत हाइड्रोपावरले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा, नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारीमा रहेका नेपाली नागरिक, सामूहिक लगानी कोष, कम्पनीका कर्मचारी तथा सर्वसाधारणका लागि सेयर निष्कासन गर्नेछ।