बेमौसमी हिमपातले मनाङमा विकास निर्माणको काम प्रभावित

शुक्रबार, २२ बैशाख, २०८०
डिजिटल संस्करण

हिमाली जिल्ला मनाङमा बेमौसमी हिमपातले विकास निर्माणको काम ठप्प भएको छ। निर्माण कार्य थालेका योजना हिमपातका कारण रोकिएका छन्।

मंगलबार रातिबाट परेको हिमपातका कारण सामान ढुवानी नहुँदा निर्माणको काम प्रभावित भएको चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्र घलेले बताए। उनले भने, ‘निर्माणका कामलाई तीव्र बनाउनुपर्ने समयमा हिमपातका कारण विकास निर्माणको काम प्रभावित भएको छ। मनाङमा हिमपात र बर्खायामको दुवै सिजन मौसमले साथ दिँदैन।’

पुस–माघमा पर्याप्त हिमपात नभए पनि बेमौसममा वैशाखमै हिउँ परेको अध्यक्ष घलेले बताए। उनका अनुसार यसअघि ०७६ मा पनि मनाङमा वैशाख–जेठमा हिमपात भएको थियो।

पुस–माघमा परेको हिमपातले बालीनाली सप्रने भए पनि बेमौसममा परेको हिमपातले बालीनाली बिगार्ने चामेकी अस्मिता गुरुङ बताउँछिन्। उनका अनुसार विगतका वर्षहरूको तुलनामा यस वर्ष मनाङमा सिजनमा समेत पर्याप्त हिमपात भएन।
 

See More On

सुझावित समाचार