धादिङको खनियाँबास गाउँपालिका–४ उइदुङका छिरिङ तामाङ (सुमन) मृत भेटिएका छन्। गंगाजमुना गाउँपालिका– ३ लचेतको जंगलमा झुन्डिएको अवस्थामा मंगलबार मृत भेटिएको हो।
गंगाजमुना गाउँपालिकास्थित रिगाउँका स्थानीयले २५ वर्षीय सुमनलाई जंगलमा मृत अवस्थामा फेला पारेको खनियाँबास गाउँपालिका–४ का वडा अध्यक्ष लीलाबहादुर तामाङले बताए।
उनी दुवै हात डोरीले बाँधिएको र रुखमा झुन्डिरहेको अवस्थामा फेला परेका हुन्। उनले भने, ‘सुमनको शव कुहिसकेको अवस्थामा रिगाउँका स्थानीयले भेटेका हुन्। शव कुहिसकेकोले घटना धेरै दिनअगाडिको हो भन्ने आकलन गर्न सकिन्छ।’
सुमन ट्रेकिङमा भरिया काम गर्ने गरेको खनियाँबास गाउँपालिका– ४ का वडा सदस्य प्रतापबहादुर तामाङले बताए।
पोखरा आउने जाने गर्ने सुमन माघको दोस्रो सातादेखि गाउँमा थिएनन्। उनले भने, ‘बाहिर काम गर्ने हुदा गाउँमा नभए पनि त्यति खोजीनिती भए। तर, एक्कासि मृत भेटियो। शव गलेर कुहिसकेको छ। हुलिया हेरेर सुमनको शव हो भन्ने पहिचान गर्नचाहिँ सकिन्छ।’
सुमनको शव धादिङ अस्पतालमा ल्याई बुधबार पोस्टमार्टम गरिएको छ। प्रारम्भिक अनुसन्धानबाट हत्याको आशंका देखिए पनि रिपोर्ट नआई भन्न नसकिने जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले बताए। उनले भने, ‘घटना धेरै दिनअघिको जस्तो देखिन्छ। हामी अनुसन्धानकै क्रममा छौँ। अनुसन्धानपछि सत्यतथ्य कुरा आउँछ।’