नेपालसहित १५५ देशका नदीबाट अयोध्यामा जलाभिषेक

मंगलबार, १२ बैशाख, २०८०
डिजिटल संस्करण

भारतको अयोध्यास्थित राम मन्दिरमा नेपालसहित एक सय ५५ देशका  नदीबाट अयोध्यामा जलाभिषेक गराइएको छ । 

भाजपा नेता, दिल्ली अध्ययन समूहका अध्यक्ष तथा पूर्वविधायक डा. विजय जोलीको नेतृत्वमा सातै महाद्वीपका एक सय ५५ देशका पवित्र जल जलाभिषेक गरिएको हो । 

आइतबार अयोध्यामा आयोजित कार्यक्रममा ४० भन्दा बढी देशका प्रतिनिधिसहित ठूलो संख्यामा भारतीयहरूले भाग लिएका थिए । 

कार्यक्रममा फिजी, मंगोलिया, डेनमार्क, भुटान, रोमानिया, हाइटी, ग्रिस, कोमोरोस, काबेभर्डे, मोन्टेनेग्रो, टुभालु, अल्बानियाका कूटनीतिज्ञ सहभागी थिए । 

त्यस अवसरमा भुटान, सुरिनाम, फिजी, श्रीलंका र कम्बोडियाका वर्तमान राष्ट्र प्रमुखहरूले डा. जोलीलाई शुभकामना सन्देश पठाएका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै जोलीले बाबरको जन्मभूमि उज्वेकिस्तानको एन्डिजान सहरबाट आएको प्रसिद्ध कशकदर्या नदीको पवित्र जल पनि आइपुगेको बताए । युद्धरत रुस र युक्रेन तथा चीन र पाकिस्तानबाट पनि जलाभिषेकका लागि पानी ल्याइएको जोलीले बताए । 

जोलीले साढे दुई वर्ष लगाएर विश्वभरिबाट पानी संकलन गरिएको बताए । ‘यस महाअभियानमा हिन्दू मात्र होइन, मुस्लिम, इसाई, बौद्ध, सिख, जैन, पारसीलगायत सबैले सहयोग गर्नुभएको छ,’ जोलीले भने । 

कार्यक्रममा भारतका रक्षामन्त्री राजनाथ सिंह, उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ, योगी राम देव, श्री रामजन्मभूमि तीर्थ क्षेत्र न्यासका महासचिव चम्पत राय, विश्व हिन्दू परिषद्का संरक्षक दिनेश चन्द्र, राष्ट्रिय स्वयं सेवक संघका प्रचारक रामबहादुर थापालगायत सहभागी थिए । 

कार्यक्रममा नौजना पण्डितहरूले संस्कृत श्लोक वाचन गरेका थिए । सोही अवसरमा श्रीमती शालु कुमारीद्वारा निर्देशित विश्वभरबाट संकलन गरिएको पानीमाथिको छोटो फिल्म पनि प्रदर्शन गरिएको थियो । त्यस अवसरमा रामकथाको सांगीतिक प्रस्तुति पनि आयोजना गरिएको थियो । 

सुझावित समाचार