उपनिर्वाचनअन्तर्गत चितवनको मतगणनास्थलमा प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल उपस्थित नहुने भएका छन्।
प्रजिअ पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेलाई सहयोग गरेको चितवन कांग्रेसले आरोप लगाउँदै आएको छ। रास्वपाले आचारसंहिता मिच्दासमेत समर्थन गरेको आरोप खेपेका उनीविरुद्ध निर्वाचन आयोगमा उजुरीसमेत परेको छ।
‘चितवन २ को सम्पूर्ण सुरक्षा जिम्मा निर्वाचन प्रमुखले लिनेछन् भने सिडिओको अनुपस्थितिमा नै मतगणना हुनेछ,’ कांग्रेसका चितवन सभापति राजेश्वर खनालले भने, ‘निर्वाचनको प्रक्रियामा सबैले सिडिओमाथि प्रश्न उठाउनुभयो । सबैको प्रस्तावनामा र आग्रहलाई मनन गर्दै उहाँले मेरो कारणले गर्दा मतगणनामा गाह्रो हुन्छ भने उपस्थित हुन भन्नुभएको छ।’