लुकिछिपी यार्चा संकलन गर्ने थप नौजना पक्राउ, ४० जना सेनाको घेराबन्दीमा

मंगलबार, ५ बैशाख, २०८०
डिजिटल संस्करण

डोल्पाको तोइजुमबाट लुकिछिपी यार्चा टिप्न जाने थप नौजना पक्राउ परेका छन्।

यार्चा सिजन खुल्नुअगाडि नै पाटन छिर्न खोज्ने नौजनालाई सेफोक्सुन्डो राष्ट्रिय निकुञ्जको टोली र रामवाण गुल्मको संयुक्त गस्ती टोलीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा मुड्केचुला गाउँपालिकाका मनोज बुढा, धन बुढा, भीम बुढा, जनम बुढा, धनबहादुर बुढा, मुकु बुढा, सर्वराज बुढा र जुम्ला गज्याङकोटका प्रकाश बुढा र कालिगार बुढा रहेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत लालबहादुर भण्डारीले जानकारी दिए।

उनीहरू सबै निकुञ्जको तोइजुम पोस्टबाट पक्राउ परेको भण्डारीले बताए।डोल्पामा प्रत्येक वर्ष सर्वदलीय निर्णय गरेर मात्र यार्चा संकलन खुलाउने गरिएकाले उनीहरू अवैध रूपमा पाटन छिर्न खोज्दा पक्राउ गरिएको निकुञ्जले जनाएको छ।

त्यसैगरी कुनासा र पुनिखा पाटनमा अवैध रूपमा छिरेका ४० जनाको हाराहारीमा रहेको समूहलाई निकुञ्ज र सेनको संयुक्त गस्ती टोलीले चारैतिरबाट घेरा हालेकाले केही समयमा पक्राउ गरिने प्रमुख संरक्षण अधिकृत भण्डारीले जानकारी दिए।

बिहान मात्रै लुकिछिपी यार्चा पाटन छिर्न खोज्ने चारजना जगदुल्लाका स्थानीयलाई तोइजुम पोस्टबाट पक्राउ गरेर निकुञ्जलाई बुझाएको छ।

यस वर्षको यार्चा संकलन गर्ने समय नजिकिँदै गर्दा एक सातादेखि निकुञ्जका कर्मचारी र सेनाले निकुञ्ज क्षेत्रमा पर्ने यार्चा पाटनमा संयुक्त गस्ती गरिरहेको निकुञ्जले जनाएको छ। यार्चा संकलन गर्ने समय अघि लुकिछिपी पाटन नछिर्न निकुञ्जले सर्वसाधारणलाई आग्रह गरेको छ।
 

सुझावित समाचार