गर्मीयाम सुरु भएसँगै बाजुरामा कालाजारका बिरामी भेटिन थालेका छन्। हिमाली गाउँपालिका– ३ बौडीका छपल थापाका ६ वर्षीय छोरा निमा छिरिङ थापालाई कालाजार देखापरेको जिल्ला अस्पताल बाजुराले जनाएको छ।
लगातार तीन महिनादेखि बिरामी भई थला परेका थापालाई स्थानीय स्वास्थ्य संस्थामा उपचार गर्दा निको नभएपछि बुधबार बेलुकी जिल्ला अस्पतालमा भर्ना गरिएको थियो।
उपचारका क्रममा बालकमा कालाजार रोग भेटिएको अस्पतालका सूचना अधिकारी नृपराज गिरीले राससलाई जानकारी दिए। उनका अनुसार बालकमा कालाजारका साथै कुपोषणसमेत रहेको र बालकको शरीरमा रगतको मात्रा दुई प्वाइन्ट मात्रै छ।
रगतको मात्रा कम भएकाले बालकलाई आइसियूमा राख्नुपर्ने भएपछि थप उपचारका लागि सुविधायुक्त अस्पताल पठाउने तयारी भइरहेको सूचना अधिकारी गिरीले बताए।
गर्मीयाममा घर–आँगन अगाडि हुने फोहाेर र खाल्डामा पानी जम्ने भएकाले लामखुट्टे लाग्ने र लामखुट्टेले टोकेपछि कालाजार रोग लाग्ने अस्पतालका निमित्त कार्यालय प्रमुख डाक्टर मिलन जोशीले बताए।
यससँगै जिल्लामा कालाजारका बिरामीको संख्या पाँच पुगेको छ। यसअघि कोल्टीमा चारजनामा कालाजार भेटिएको थियो।