कोभिड संक्रमणको पछिल्लो स्थिति कस्तो छ ?
पहिलेको तुलनामा केही बढेको छ । परीक्षण गराउने दर कम भएकाले अझै त्यति नदेखिएको पनि हुन सक्छ । हामीले जनस्वास्थ्यसम्बन्धी मापदण्ड पालना गर्न सक्यौँ भने संक्रमणदर घटाउन सकिन्छ । ओमिक्रोन भेरिएन्ट संक्रामक बढी र घातक कम छ । तर, जटिल स्वास्थ्य समस्या भएका वृद्धवृद्धा र बालबालिकालाई यसले समात्यो भने अवस्था जटिल पनि हुन सक्छ ।
सम्भावित महामारीसित जुध्न राज्यका तहबाट कस्तो तयारी भइरहेको छ ?
निगरानी र परीक्षणको दायरा बढाइएको छ । जनस्वास्थ्यका मापदण्ड पालना गराउने काम भइरहेको छ । अस्पतालहरू तयारी अवस्थामा राखिएका छन् । पहिलेकै शड्ढया, भेन्टिलेर र जनशक्तिलाई तयारी अवस्थामा राख्ने काम भइरहेको छ । खोपका सबै मात्रा लगाउन छुटेका व्यक्तिहरूलाई बाँकी मात्रा लगाउने काम पनि चलिरहेको छ ।
सम्भावित संक्रमणबाट जोगिन जनस्तरबाट अपनाउनुपर्ने सावधानीका उपाय क–के हुन सक्छन् ?
जनस्तरमा फैलिन सक्ने सम्भावित संक्रमण रोक्न सर्वसाधारण स्वयं सचेत हुनुपर्छ । हामी आफैँ सचेत भएनौँ भने परिवारका सदस्यहरूसमेत संक्रमित बन्ने जोखिम हुन्छ । अस्पताल भर्नादर बढ्छ । यसबाट नियमित स्वास्थ्य समस्या भएका बिरामीको स्वास्थ्योपचारमा समेत समस्या हुन्छ । त्यसैले, सबैले मास्क लगाउने, भिडभाड नगर्ने र भिडभाडमा नजाने, खोपको पूरै मात्रा लगाउने र कोभिड संक्रमणका लक्षण देखिएमा स्वास्थ्य परीक्षण गराउनेजस्ता विषयमा ध्यान दिन सकियो भने संक्रमण रोक्न सकिन्छ ।