आयातीत तरकारी तथा खाद्यान्नको विषादी परीक्षणको मापदण्ड स्वीकृत

बुधबार, २९ चैत, २०७९
डिजिटल संस्करण

विदेशबाट आयातीत तथा स्वदेशमा उत्पादित खाद्यान्न तथा तरकारी–फलफूलमा हुने जीवनाशक विषादीको अवशेषको अधिकतम सीमा निर्धारण गर्ने प्रस्ताव स्वीकृत भएको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले आयातीत तरकारी तथा खाद्यान्नको विषादी परीक्षणको मापदण्ड स्वीकृत गरेको हो । यस्तो निर्णयपछि आयातीत खाद्य वस्तु, तरकारी र फलफूलमा हुने विषादीको अवेशष भन्सार नाकाहरूमा कडाइका साथ परीक्षण हुने भएको छ ।

विदेशबाट आयात हुने खाद्य वस्तु, तरकारी र फलफूलमा हुने विषादीको अवशेषको मात्रा परीक्षण गर्नेसम्बन्धी प्रस्ताव खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले कृषि तथा पशुपक्षी विकास मन्त्रालयलाई पठाएको थियो । त्यसपछि मन्त्रालयले उक्त प्रस्ताव गत पुसमा मन्त्रिपरिषद्मा पेस गरेको थियो । 

मन्त्रिपरिषद्ले प्रस्तावका विषयमा विस्तृत छलफल गर्न आर्थिक तथा पूर्वाधार समितिमा पठाएको थियो । सो समितिले छलफलपछि दिएको रायअनुसार विदेशबाट आयातीत खाद्य वस्तु, तरकारी र फलफूलको विषादीको अवशेषको अधिकतम सीमा निर्धारण गर्ने निर्णय मंगलबारको मन्त्रिपरिषद्ले लिएको हो ।

कृषि मन्त्रालयका प्रवक्ता प्रकाश सञ्जेलले विषादीको अवशेषको अधिकतम निर्धारण भएपछि धेरैभन्दा धेरै खाद्य वस्तुको परीक्षण गर्न सहज हुने जानकारी दिए । ‘अहिले पनि भन्सार नाकामा नियमित रूपमा विषादी परीक्षण भइरहेको छ, रोकिएको होइन,’ उनले भने, ‘यद्यपि, मन्त्रिपरिषद्बाट एउटा मापदण्ड पास गरिएको हो । अब राजपत्रमा प्रकाशित भएपछि सशक्त कार्यान्वयन गर्छौँ ।’

मन्त्रालयमातहतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बनाएको मापदण्डअनुसार अहिलेसम्म सात प्रकारका तरकारी, दुई प्रकारका फलफूल र एउटा चियाको मात्र विषादीको अधिकतम मापदण्ड स्वीकृति भएको थियो । अन्य तरकारी, फलफूल र खाद्यान्नमा हुने विषादीको मात्रा भने अन्तर्राष्ट्रिय मापदण्डका आधारमा परीक्षण हुँदै आएको थियो । आउँदा दिनमा भने नेपालले नै बनाएको मापदण्डका आधारमा विषादीको परीक्षण गर्ने बाटो मन्त्रिपरिषद्को निर्णयले खुलाएको हो ।

खाद्य विभागका पूर्वमहानिर्देशक तथा कृषि मन्त्रालयका खाद्य सुरक्षा तथा खाद्य प्रविधि विभागमा प्रमुख रहेका सहसचिव सञ्जीव कर्णले पनि मन्त्रिपरिषद्को बैठकले विषादीको अवशेषको अधिकतम सीमा निर्धारण गरेको र आगामी दिनलाई परीक्षणमा सहज बनाएको बताए । 

‘आयातीत तरकारी, फलफूलको विषादी परीक्षण रोकिएको थिएन, निरन्तर भइरहेको हो,’ उनले भने, ‘परीक्षणका लागि एउटा मापदण्ड बनाएको थियौँ । मन्त्रिपरिषद्बाट त्यो मापदण्ड भएको हो ।’ मन्त्रिपरिषद्बाट पास भएको मापदण्डअनुसार एक सय ८५ प्रकारका विषादीको अवशेष परीक्षण गर्न सकिनेछ । 

सुझावित समाचार