झापाको जुरोपानीमा नयाँ सबस्टेसन सञ्चालनमा

सोमबार, २७ चैत, २०७९
डिजिटल संस्करण

झापाको गौरादह नगरपालिका– ७ ग्वालडुब्बा, जुरोपानीमा  ३३/११ केभी नयाँ सबस्टेसन सञ्चालनमा आएको छ। 

नेपाल विद्युत् प्राधिकरण आयोजना व्यवस्थापन निर्देशनालयअन्तर्गत  वितरण प्रणाली सुदृढीकरण तथा विस्तार आयोजनामार्फत उक्त सबस्टेसन निर्माण गरिएको हो। 

सबस्टेसनबाट विद्युत् आपूर्ति दिन थालेपछि झापाको गौरादहदेखि दक्षिणतर्फ भारतीय सीमासम्मका विद्युत् उपभोक्ताहरूले सामना गरिरहेको न्यून भोल्टेजको समस्या समाधान हुनेछ।

६/८ एमभिए क्षमताको पावर ट्रान्सफर्मर जडित जुरोपानी सबस्टेसनबाट स्थानीय रूपमा विद्युत् आपूर्तिका लागि ११ केभीका पाँचवटा फिडर लाइन निकालिएको छ। सबस्टेसनबाट ११ केभीका गौरादह, महारानी, बैगुनधुरा र गौरीगन्ज फिडर निकालिएको छ भने थप एउटा जगेडामा राखिएको छ।

सबस्टेसनलाई आइतबार विद्युत् आपूर्ति दिई सञ्चालनमा (चार्ज) ल्याएको छ। पहिलो चरणमा महारानी फिडर सञ्चालनमा ल्याइएको छ भने बाँकी फिडर क्रमशः सञ्चालनमा ल्याइनेछ।

हाल गाैरादह, जुरोपानी, महारानी, गौरीगन्जलगायतका क्षेत्रमा पाडाजुँगी (दमक) १३२ केभी सबस्टेसनबाट ११ केभी वितरण लाइनमार्फत विद्युत् आपूर्ति दिइएको थियो। 

११ केभी वितरण लाइन ज्यादै लामो हुँदा त्यस क्षेत्रमा न्यून भोल्टेज, ट्रिपिङलगायतका समस्या थियो। जुरोपानी  सबस्टेसनबाट विद्युत् आपूर्ति दिन थालेपछि उपभोक्ताले अहिले व्यहोरिरहेको समस्या समाधान भई विद्युत् आपूर्ति पर्याप्त, भरपर्दो, गुणस्तरीय भएको छ। त्यस क्षेत्रका कृषकले विद्युतीय मोटरबाट पानी तानी खेतमा सिँचाइ गर्दै आएका छन्।

पहिले २८० भोल्ट लाइन आउने गरेकोमा नयाँ सबस्टेसनबाट आपूर्ति दिन थालेपछि ४०० भोल्ट लाइन  प्रवाह भई त्यस क्षेत्रमा कुटानी–पिसानी मिलका उपकरण, पानी तान्ने पम्पलगायतले राम्रोसँग काम गर्न थालेको परीक्षण, सञ्चालन र चार्जिङमा संलग्न आयोजनाका सहायक इन्जिनियर दुर्गादत्त सुवेदीले बताए। 

पाडाजुँगीबाट जुरोपानीसम्मको करिब १८ किलोमिटर लामो ३३ केभी लाइन निर्माणाधीन छ। केही स्थानमा स्थानीय बासिन्दाको अवरोधका कारण लाइन तान्न सकिएको छैन। 

गौरादह क्षेत्रको विद्युत् आपूर्तिको समस्या समाधान गर्न जरुरी भएकाले वैकल्पिक व्यवस्थाको रूपमा पाडाजुँगी–गौरीगन्ज सडकको छेउछेउबाट लाइन लगेर जुरोपानी सबस्टेसन सञ्चालनमा ल्याइएको छ। नेपाल सरकार तथा प्राधिकरणको लगानी र एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा  सबस्टेसन निर्माण गरिएको हो।  
 

सुझावित समाचार