अज्ञात समूहले काट्यो हात्तीको सुँड

बुधबार, २२ चैत, २०७९
डिजिटल संस्करण
अज्ञात समूहले काट्यो हात्तीको सुँड

फाइल तस्बिर

पर्यटकीय नगरी सौराहामा बाँधेर राखिएको एक हात्तीको सुँड काटिएको छ। पर्यटन व्यवसायी दीपेन्द्र खतिवडाको उक्त हात्तीको सुँड गएराति काटिएको हो। 

सौराहास्थित रेस्टुराँ एन्ड बार एसाेसिएसनका पूर्वअध्यक्षसमेत रहेका खतिवडाका अनुसार गएराति ११ः३० बजेतिर हात्तीसारमा बाँधेर राखिएको हात्तीको सुँड धारिलो हतियार प्रहार गरी काटिएको अवस्थामा भेटिएको थियो। हात्ती पीडाले कराएपछि हेर्न जाँदा यस्तो घटना देखिएको उनकाे भनाइ थियो। 

हात्तीलाई मार्ने उद्देश्यले  नै सुँड काटिएको हुन सक्ने खतिवडाले बताए। उनका अनुसार ४५ वर्षीया चञ्चलकली हात्तीको सुँड ६ इन्च काटिएको छ। बाघमारा सामुदायिक वन जाने बाटोमा तीनवटा हात्ती एकै ठाउँमा बाँधेर राखिएकामा  चञ्चलकलीको सुँड काटिएको थियो। 

काटिएको सुँडको भाग जोड्न नमिल्ने अवस्थामा रहेको र उपचारबारे चितवन राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषका चिकित्सक तथा प्राविधिकहरूबीच छलफल भइरहेको खतिवडाले बताए।  

हात्तीले खानका लागि आहारा तान्न र कुनै कुरा टिप्न सुँडको प्रयोग गर्दछ। जिल्ला प्रहरी कार्यालयका उपरीक्षक रामेश्वर कार्कीले नेपाल प्रहरी र निकुञ्ज प्रशासनको सहयोगमा घटनाबारे अनुसन्धान भइरहेको बताए। हात्तीको सुँड काटिएको यो पहिलो घटना हो। 

तस्बिर : सामाजिक सञ्जाल 

See More On

सुझावित समाचार