डेढ महिनापछि १५ वर्षीया बालिका बलात्कार आरोपमा दुईजना पक्राउ

बुधबार, २२ चैत, २०७९
डिजिटल संस्करण

महाराजगन्जकी १५ वर्षीया सविना शर्मा (परिवर्तित नाम) फेसबुकमार्फत आशीष तामाङ नामको आइडी चलाउने निमा तामाङसँग नजिकिइन् । तामाङका मीठामीठा गफमा फकिएकी सविना अन्ततः उनैबाट सामूहिक बलात्कारको सिकार बनिन् । 

गत ६ फागुनमा टोखा नगरपालिका– ६ धापासीस्थित ग्रान्डी अस्पतालनजिकैको गेस्ट हाउसमा सविनामाथि सामूहिक बलात्कार भएको हो । घटनामा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका– ३ का २१ वर्षीय निमासहित काभ्रे महाभारत गाउँपालिका– ७ का २१ वर्षीय कुशल श्रेष्ठ सहभागी थिए । उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएका प्रहरी टोलीले घटना भएको झन्डै डेढ महिनापछि पक्राउ गरेको छ ।

अनुसन्धान कार्यालयका प्रमुख एसएसपी डा. मनोज केसीले बालिका सामूहिक बलात्कारमा परेको र घटनामा संलग्न दुई अभियुक्त पक्राउ परेको बताए । ‘बालिका सामूहिक बलात्कारमा परेको सूचना आएपछि प्रहरीले घटनाको अनुसन्धान गर्दै जाँदा दुई अभियुक्त पक्राउ परेका छन् । उनीहरूले बालिकालाई झुक्याएर गेस्ट हाउसमा बोलाई बलात्कार गरेको देखिन्छ,’ उनले भने ।

प्रहरीका अनुसार निमाले बालिकालाई गेस्ट हाउसमा चिया खाने बहानामा भेट्न बोलाएका थिए । बालिका केहीबेर मात्रै भेट गर्ने उद्देश्यले पुगेकी थिइन् । निमाले बालिकालाई झुक्याएर गेस्ट हाउसको रुममा लगे । सुरुमा आफूले बलात्कार गरे, अनि कुशललाई बोलाएर बलात्कार गर्न लगाए । घटनालगत्तै दुवैजना फरार भए । प्रहरीले उनीहरूलाई गत २० चैतमा धापासीबाट पक्राउ गरेको थियो । 

सुझावित समाचार