मेलम्ची खानेपानी वितरणका लागि बिच्छ्याइएको नयाँ पाइपमध्ये आधाभन्दा बढीमा परीक्षण सकिएको छ । कुल एक हजार १० किमि पाइपमध्ये हालसम्म पाँच सय ७६ किमिमा परीक्षण सकिएको र बाँकीको परीक्षण भइरहेको काठमाडौं उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ ।
आगामी असार मसान्तसम्ममा सबै परीक्षण सकाउने लक्ष्य रहेको निर्देशनालयका सूचना अधिकारी चन्द्रकुमार श्रेष्ठले बताए । ‘काठमाडौंको भित्री भागमा अहिले परीक्षण भइरहेको छ,’ उनले भने, ‘विष्णुमतीबाट पूर्व र टुँडिखेलबाट पश्चिम क्षेत्रमा टेकुदेखि माथिल्लो भागमा परीक्षण बाँकी छ ।’
उनका अनुसार गौशाला, कोटेश्वर क्षेत्रमा परीक्षण भइसकेको छ भने बानेश्वर, कलंकी–बल्खु क्षेत्रमा पनि परीक्षण भइरहेको निर्देशनालयले जानकारी दिएको छ । स्वयम्भू, बालुवाटारलगायतका कतिपय स्थानमा पाइप बिच्छ्याउन नै बाँकी छ । गत महिनामा काठमाडौं उपत्यकाका धेरै स्थानमा पाइप फुट्ने समस्या सबैतिर देखिएपछि हाल परीक्षणपछि उक्त समस्या बिस्तारै कम भएको कार्यालयको दाबी छ ।
परीक्षण भइसकेका स्थानमा नयाँ पाइपबाट पठाइएको र काठमाडौं उपत्यका खानेपानी लिमिटेडले चुहावट भएको ठाउँमा तत्काल मर्मत सुधार गरिरहेकाले चुहावट कम भएको उनले बताए । चक्रपथभित्र एसियाली विकास बैंकको ऋण सहयोगमा सन् २०१३ बाट पाइप बिच्छ्याउन सुरु गरिएको थियो ।
हाल मेलम्चीको पानी वितरणका लागि १० वटा रिजर्भ ट्यांकी सञ्चालनका लागि तयार रहेको निर्देशनालयको भनाइ छ । जसमध्ये केही ट्यांकी सञ्चालनमा आइसकेका छन् । नयाँ पाइप प्रयोग भएपछि सबै ट्यांकी सञ्चालनमा आउने उहाँको भनाइ छ ।
हाल कार्यालयले घरघरमा वितरणका लागि पोलिथिन पाइप र मुख्य पाइपमा जिआई पाइप प्रयोग गरेको छ । एक हजार पाँच सयदेखि एक हजार ६ सय घरलाई एउटा क्षेत्र बनाइएको छ । –रासस