क्षमता र लगानी दुवै बढाउँदै लिटमस केबल

परासीमा सबै प्रकारका हाइटेन्सन कन्डक्टर उत्पादन हुने

शुक्रबार, १० चैत, २०७९
डिजिटल संस्करण

नेपालमै चार सय केभिएसम्मको कन्डक्टर उत्पादन गर्दै आएको लिटमस केबलले प्रसारण लाइनमा आवश्यक सबै क्षमताको केबल उत्पादन गर्ने भएको छ । यसका लागि चार अर्ब रुपैयाँ लगानीमा उद्योगले परासीमा नयाँ प्लान्ट सञ्चालनमा ल्याउन लागेको हो । 

हाल बुटवल औद्योगिक क्षेत्रको दुई बिघा क्षेत्रफलमा विभिन्न प्रकारका कन्डक्टर तथा केबल उत्पादन गर्दै आएको कम्पनीका लागि थप स्थान उपलब्ध नभएपछि परासीमा नयाँ प्लान्ट स्थापनाको तयारीमा लागेको हो । यसका लागि परासीमा करिब १५ बिघा जग्गामा काम भइरहेको कम्पनीका भाइस प्रेसिडेन्ट सरोज मिश्रले बताए । औद्योगिक तथा व्यापारिक समूह रमेश कर्पअन्तर्गतको कम्पनी लिटमस केबलले विभिन्न घरायसी वायरिङका केबल, कन्डक्टर, ट्रान्सफर्मरमा प्रयोग हुने इनामेल बाइन्डिङ वायरदेखि नेपालमै पहिलो र एक मात्र चार सय केभिए क्षमताको कन्डक्टर उत्पादन गर्दै आएको उनको भनाइ छ ।

भाइस प्रेसिडेन्ट मिश्र भन्छन्, ‘हामी अहिले चार सय केभिएसम्मको कन्डक्टर उत्पादन गर्दै आएका छौँ । वातावरण उपयुक्त रहेमा र नीति–निर्माण तहबाट र हाम्रा उपभोक्ता तहबाट पनि सकारात्मक सहयोग भएको खण्डमा हामी नेपालमा आवश्यक सबै प्रकारका हाइटेन्सन कन्डक्टर उत्पादन गरेर नेपालमा विद्युतीकरणका लागि चाहिने यस्ता उत्पादनको आयात प्रतिस्थापन गर्न सक्छौँ ।’

हाल बुटवलको उद्योगमै एक अर्ब रुपैयाँ लगानी भइसकेको र केही उत्पादन बजारको मागअनुसार अझै पनि उत्पादन गर्न नसकेको तथा उच्च क्षमताका ट्रान्समिसन लाइन अझै पनि विदेशबाटै आयात गर्नुपर्ने बाध्यता हटाउनका लागि लगानी र क्षमता दुवै विस्तार गर्न लागेको उनको भनाइ छ । तीन वर्षअघि लिटमसले बुटवल औद्योगिक क्षेत्रमै लगानी तथा क्षमता वृद्धि गरेको थियो । 

 इनामेल बाइन्डिङ वायर लिटमसको, ट्रान्सफर्मर उत्पादन निकको
हाल लिटमसले निक इन्जिनियरिङ कम्पनीसँगको ज्वाइन्ट भेन्चरमा ट्रान्सफर्मर पनि उत्पादन गरिरहेको छ । यसमा आवश्यक इनामेल बाइन्डिङ वायरलगायतका अन्य उत्पादन लिटमसले गर्ने र ट्रान्सफर्मर निकले उत्पादन गर्ने गरेको भाइस प्रेसिडेन्ट मिश्रले बताए । सन् १९९४ मै इनामेल बाइन्डिङ वायर उत्पादन गरेर १९९६ मै भारत निर्यात सुरु गरे पनि हाल भने निर्यात नभएको उनको भनाइ छ ।

तत्कालीन लुम्बिनी केबलले भारतको चेन्नाई, कोलकाता, दिल्ली र बैंगलोरमा आफ्ना उत्पादन गर्ने गरेको थियो । दैनिक २५ ट्रकसम्म उत्पादन भारत निर्यात हुने गरेको उनले बताए । त्यस्तै, भुटान जलविद्युत् उत्पादनको चरम अवस्थामा रहँदा आफ्ना उत्पादन भुटानमा पनि निर्यात हुने गरेको उनी सम्झन्छन् । तर भुटानमा जलविद्युत् पूर्वाधार निर्माण ओरालो लागेपछि र भारतले नीतिगत कडाइ गरेपछि निर्यात गर्न नसके पनि निकमार्फत सात हजारभन्दा वढी ट्रान्सफर्मर उत्पादन गरिसकेको मिश्रको भनाइ छ ।  

विद्युत् प्राधिकरणका लागि निर्माण गर्नुपर्ने १० हजारमध्ये सात हजार थान ट्रान्सफर्मर उत्पादन गरिसकेको कम्पनीले जनाएको छ । कम्पनीले सन् २०२१ मा विद्युत् प्राधिकरणको पाँच करोड अमेरिकी डलरबराबरभन्दा बढीको ठेक्का प्राप्त गरेपछि आफ्ना उत्पादन नियमित विद्युत् प्राधिकरणलाई आपूर्ति गरिरहेको भाइस प्रेसिडेन्ट मिश्र बताउँछन् । 

 उत्पादनमा विविधीकरण
कम्पनीले आउँदो पाँच वर्षमा विभिन्न प्रकारका नयाँ उत्पादन सुरु गर्ने तयारी गरेको छ । परासीमा उद्योग सञ्चालनमा आएसँगै क्रमशः नयाँ उत्पादन सुरु गरिने मिश्र बताउँछन् । उनका अनुसार कम्पनीले एमसिभी, फ्यान, स्विच, इन्डक्सन र एलइडी लाइटसमेत उत्पादन गर्नेछ । हाल देशका एक सय ३० भन्दा बढी डिस्ट्रिब्युटर र दुई हजारभन्दा बढी रिटेलरमार्फत आफ्ना उत्पादन बिक्री गरिरहेकाले नयाँ उत्पादन पनि उपभोक्तासम्म पु¥याउन कुनै कठिनाइ नरहेको मिश्रको विश्वास छ ।

 ४० प्रतिशतसम्म मूल्य अभिवृद्धि
लिटमसका उत्पादनमा ४० प्रतिशतसम्म मूल्य अभिवृद्धि हुने गरेको मिश्रको भनाइ छ । उनले भने, ‘हामीले कच्चा पदार्थ सबैजसो विदेशबाट ल्याउने हो । तर, यहाँ ल्याएर त्यसलाई प्रशोधन, नेपाली विद्युत् उपयोग, नेपालमै उपलब्ध केही कच्चा पदार्थ र यहाँको श्रम हिसाब गर्दा हाम्रा उत्पादनमा आयातित कच्चा पदार्थको तुलनामा करिब ४० प्रतिशत मूल्य अभिवृद्धि हुने गरेको छ ।’ कृषि र खानीजन्य उत्पादनबाहेक नेपालमा यति धेरै मूल्य अभिवृद्धि हुने उत्पादन निकै कम रहेको उनी ठोकुवा गर्छन् । 

सुझावित समाचार