प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति पदको निर्वाचनमा मतदान गरेका छन्। नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से कक्षमा कायम गरिएको संघीय सांसद मतदान केन्द्रमा उनले मतदान गरेका हुन् ।
राष्ट्रपतिका दुवै उम्मेदवार रामचन्द्र पौडेल र सुवासचन्द्र नेम्वाङले यसअघि नै मतदान गरिसकेका छन्। अहिले बिहान १० देखि सुरु भएको मतदान दिउँसो ३ बजेसम्म जारी रहने सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले जानकारी दिइन्। तेस्रो राष्ट्रपतिका लागि कांग्रेसका रामचन्द्र पौडेल र एमालेका सुवासचन्द्र नेम्वाङ प्रतिस्पर्धामा छन्।
कांग्रेसका पौडेल कांग्रेससहित नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल समाजवादी पार्टीको साझा उम्मेदवार हुन्।