प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सबै माओवादी घटकहरूलाई एकताबद्ध हुन आग्रह गरेका छन् ।
पुनः एकपटक सबै माओवादी एक ठाउँमा हुन सके विजयको नयाँ यात्रा सुरु गर्न सकिने उनको बुझाइ छ । आइतबार काठमाडौंमा सहिद तथा बेपत्ता योद्धा सन्तति फाउन्डेसनले गरेको अन्तर्क्रिया कार्यक्रममा प्रचण्डले एकताको अपिल गरेका हुन् ।
‘हामी अहिले एकताबद्ध हुनुपर्छ भन्ने आवश्यकताबोध जुन गरिएको छ, यो एउटा शक्ति हो भन्ने म ठान्छु । म सबै साथीहरूलाई यो विषयमा गम्भीरतापूर्वक विचार गर्न आग्रह गर्छु,’ उनले भने, ‘एकपटक माओवादीहरू एक ठाउँमा भएर लाखौँ जनता सडकमा उतार्ने हो भने माओवादीले फेरि एकपटक विजयको नयाँ यात्रा सुरु गर्न सक्छ भन्ने मेरो विश्वास घटेको छैन । त्यसको निम्ति म अपिल गर्न चाहन्छु ।’