यो वर्ष देशभर नै हिउँदे वर्षा निकै कम भयो । यसको कारण के होला ?
पछिल्ला तीन वर्षदेखि पूर्वी प्रशान्त महासागरमा ‘लानिना’ प्रणालीको विकास भएको छ । यो भनेको यस क्षेत्रको तापक्रम औसतभन्दा कम भएको अवस्था हो । यस्तो प्रणालीको विकास हुँदा हामीकहाँ हिउँदे वर्षा गराउने पश्चिमी वायुको प्रभाव कम हुन्छ । अहिले भएको पनि त्यही हो । हिन्द महासागरमा विकास हुने द्विधुव्रीय प्रणालीले पनि हाम्रो हिउँदे वर्षामा असर गरिरहेको हुन्छ । ‘लानिना’ प्रणालीको विकास ०७७ र ०७८ मा पनि भएको थियो । तर, ०७८ मा भने सरदर वर्षा भएको थियो । बिस्तारै यसको अवस्था न्युट्रल हुँदै गएकाले प्रिमनसुनसम्म अवस्था सुध्रिने अनुमान गर्न सकिन्छ ।
अबको सिजनको जलवायु कस्तो होला ?
प्रिमनसुन वर्षा एकरूपको देखिँदैन । विश्व मौसम संगठनको केही अग्रेणी संस्था (युरोपियन सेन्टर, जापान र युके) को जलवायु प्रारुपले मध्य तथा दक्षिणी नेपालमा सरदरभन्दा कम वर्षा हुने आकलन गरेका छन् । विश्व मौसम संगठनमा आवद्ध१३ वटै संस्थाको एकीकृत आकलनले तीनवटै समूह (सरदर भन्दा कम, सरदर र दरदर भन्दा बढी) को बराबर सम्भावना देखाएको छ। यसरी हेर्दा अबको प्रिमनसुन कस्ताे हुन्छ भनेर यकीन गर्न सकिने अवस्था देखिँदैन ।
यस्तो समस्याको न्यूनीकरणको कुनै उपाय हुन सक्छ कि सक्दैन ?
जलवायु प्रणालीलाई विज्ञानले वशमा लिन सकेको छैन । अमेरिकालगायत विकसित देशमा ठुल्ठूला आँधीलाई मानव बस्तीसम्म पुग्न नदिन बीच समुद्रमै विस्फोट गराएर रोक्ने महँगा प्रविधि प्रयोगमा आएका भए पनि हामीले भने मौसम पूर्वानुमानअनुसार सचेत हुनुको विकल्प छैन ।