मन्त्रिपरिषद् पुनर्गठनको तयारीमा प्रधानमन्त्री

मंगलबार, १६ फागुन, २०७९
डिजिटल संस्करण

एमाले बाहिरिएपछि कांग्रेस, जसपा, एकीकृत समाजवादी, लोसपा, नागरिक उन्मुक्ति सरकारमा जाने

एमाले सरकारबाट बाहिरिएसँगै आठदलीय गठबन्धनले सरकारमा भागबन्डालगायतका विषयमा छलफलको तयारी थालेको छ । राष्ट्रपतिको उम्मेदवारीसँगै बनेको नयाँ गठबन्धनले विकसित घटनाक्रमपछिको अवस्थामा सरकारलाई विश्वासको मत, मन्त्रालय बाँडफाँटलगायतका विषय टुंगो लगाउन लागेको हो । 

कांग्रेसले गठबन्धनको बैठकपछि निर्णयमा पुग्ने जनाएको छ । कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले विकसित घटनाक्रमका कारण छिट्टै बैठक बसेर समीक्षा गरेर केन्द्रदेखि प्रदेशसम्मको सरकार र शक्ति बाँडफाँटको विषय टुंगो लगाउने बताए । अहिले नै के गर्ने भन्ने टुंगो लागेको छैन । अब गठबन्धनको दलहरूको बैठक बसेर कसरी अघि बढ्ने भन्ने निर्णयमा पुग्छौँ । सुरुमा केन्द्रको विषय टुंगो लाग्छ । क्रमशः प्रदेश र अरू विषयको टुंगो लगाउँछौँ । आजभोलिमा बैठक बस्ला । बैठकपछि विश्वासको मत र बाँकी विषयमा कसरी अगाडि जाने भन्ने निष्कर्षमा पुग्छौँ,’ उनले भने ।

महतले बुधबार गठबन्धनका बैठक बस्ने सम्भावना रहेको बताए । कांग्रेसले राष्ट्रपतिमा उम्मेदवारीपछि सत्तागठबन्धनमा अविश्वास बढेको अवस्थामा सरकार बचाउन भूमिका खेल्ने बताउँदै आएको थियो । एमालेले सरकार छाडेपछि गठबन्धनबाट सरकारलाई विश्वासको मत दिनेबारे गठबन्धनमा छलफल सुरु भएको छ । एमालेले सत्ताबाट बाहिरिएपछि संसद्को सबैभन्दा ठूलो दल कांग्रेस सरकारको सबैभन्दा बलियो सारथिको रूपमा देखिएको छ । कांग्रेसले राष्ट्रपति निर्वाचनसँगै बदलिएको समीकरण र शक्ति बाँडफाँटबारे अन्य दलसँग छलफल भइरहेको जनाएको छ । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल गर्ने तयारी गरेका छन् । प्रधानमन्त्रीको सचिवालयले आठदलीय गठबन्धनको बैठकपछि विश्वासको मत र सरकार विस्तारबारे निर्णय हुने जनाएको छ । कुन दललाई कति मन्त्रालय दिने भन्ने विषय शीर्ष नेताहरू बसेर टुंग्याउने भएका छन् । यद्यपि, गठबन्धन दलहरूको बैठकको मिति भने टुंगो लागिसकेको छैन । 

‘अब आठदलीय गठबन्धनमा विश्वासको मत र मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल हुन्छ,’ माओवादी महासचिव देव गुरुङले भने, ‘प्रधानमन्त्रीले छलफलको तयारी गर्नुभएको छ ।’ प्रचण्ड नेतृत्वको सरकारमा हाल माओवादी र जनमत पार्टी मात्रै छन् । कांगेस, एकीकृत समाजवादी, जसपा, लोसपा, नागरिक उन्मुक्ति पार्टी सरकारमा जाने तयारीमा छन् । जनमोर्चाले भने सरकारमा सहभागी नहुने जनाएको छ । राष्ट्रपति निर्वाचनअघि सत्तारूढ दलहरूबाट एक–एकजना मन्त्री बनाएर प्रधानमन्त्रीले विश्वासको मत लिने र उपराष्ट्रपति निर्वाचन सम्पन्न भएपछि मन्त्रिपरिषद्लाई पूर्णता दिने सम्भावना रहेको गठबन्धन दलका नेताहरू बताउँछन् । एमाले, राप्रपा र रास्वपा बाहिरिएसँगै १८ वटा मन्त्रालय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डमातहत आएका छन् । 

असन्तुष्ट दल नयाँ गठबन्धनको सरकारमा जान तयार
राष्ट्रपति निर्वाचनलाई लिएर आठदलीय नयाँ गठबन्धन बनेसँगै असन्तुष्ट र यसअघि प्रतिपक्षमा बसेका साना दलहरू सरकारमा जान तयार भएका छन् । अब हुने मन्त्रिपरिषद् विस्तारमार्फत जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र लोसपा सरकारमा जान तयार देखिएका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टी भने अझै ‘पर्ख र हेर’को नीतिमा छ ।

१२ सिट रहेको जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले नयाँ समीकरण बनेसँगै सरकारमा जान तयार रहेको बताए । ‘अब हामी सरकारमा जान्छौँ । के–कति मन्त्रालय लिने, त्यसबारे छलफल हुन बाँकी छ,’ उनले भने । मन्त्रिपरिषद् विस्तार राष्ट्रपति निर्वाचनपछि हुने या यसअघि नै हुने विषयमा टुंगो लागिसकेको छैन । जतिखेर टुंगो लाग्छ, त्यतिखेर आफूहरू पनि सरकारमा सहभागी हुने उनको भनाइ छ । जसपाका नेताका अनुसार आठदलीय गठबन्धनमा जसपालाई तीन मन्त्रालय दिने सहमति भएको छ । ‘यसअघि हाम्रो मूल बटमलाइन नै उपराष्ट्रपति पद र तीन मन्त्रालय पाउनुपर्छ भन्ने थियो,’ ती नेताले भने, ‘तर, त्यसमा सहमति हुन सकेको थिएन । अहिले दुवै मागमा लगभग सहमति भइसकेको छ । त्यसकारण, सरकारमा जाने वातावरण बनेको हो ।’ 

यसअघि रेशम चौधरीको रिहाइ नभएसम्म सरकारमा सहभागी नहुने बताउँदै आएको नागरिक उन्मुक्ति पार्टी आठदलीय गठबन्धन बनेसँगै सरकारमा जान उदार देखिएको छ । ‘सरकारलाई समर्थन गरेपछि जान त प¥यो,’ उन्मुक्ति पार्टीका संगठन प्रमुख लक्ष्मण जगेठ्वा थारूले भने, ‘हाम्रो माग र सरकारमा सहभागी हुने विषयमा प्रधानमन्त्रीज्यूसँग सोमबार एक चरणको छलफल भएको छ । अहिलेको नयाँ गठबन्धनमा लोकतान्त्रिक धार र संघर्ष गरेर आएका दलहरू मात्रै समावेश छन् । गणतन्त्र, संघीयता र व्यवस्थाविरोधी दलहरू बाहिरिएका छन् । परिस्थिति फरक बनेको छ । त्यसैले हाम्रो मागको सुनिश्चितता भयो भने हामी सरकारमा जान सक्छौँ ।’

यसअघि विपक्षी गठबन्धनमा रहेको महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी पनि सरकारमा सहभागी हुने भएको छ । लोसपाका वरिष्ठ नेता शरत्सिंह भण्डारीले माओवादी पुरानै गठबन्धनमा फर्किएको र तीन नयाँ दल पनि थपिएको अवस्थामा आफूहरू सरकारको हिस्सा हुने स्वाभाविक रहेको बताए । ‘हामी त पहिलेदेखि चुनावअघिको पुरानै गठबन्धन थियौँ,’ उनले भने, ‘यसमा माओवादी फर्कियो, जसपा, जनमत र नागरिक उन्मुक्ति पार्टी थपिए । अब हुने पदीय भागबन्डा र मन्त्रिपरिषद् विस्तार सबैमा हाम्रो हिस्सेदारी रहन्छ ।’ बालुवाटार स्रोतका अनुसार नागरिक उन्मुक्ति र लोसपा दुवै दललाई एक–एक मन्त्रालय दिने तयारी छ । 

रास्वपा ‘पर्ख र हेर’को नीतिमा
अहिलेको समर्थन कायमै राखेको राष्ट्रिय स्वतन्त्र पार्टीलाई पनि प्रधानमन्त्री प्रचण्ड सरकारमा सहभागी गराउने प्रयत्नमा छन् । राष्ट्रपति पदमा आठदलीय गठबन्धनको उम्मेदवार रामचन्द्र पौडेललाई मत हाल्न र सरकारमा सहभागी हुन प्रधानमन्त्रीले आग्रह गरेको रास्वपा सभापति रवि लामिछानेले सोमबार बसेको पार्टी केन्द्रीय कमिटीको बैठकमा ‘ब्रिफिङ’ गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले तत्काललाई सरकारलाई दिएको समर्थन कायमै राख्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय वसुन्धरामा सोमबार बसेको रास्वपाको केन्द्रीय कमिटी बैठकले उपयुक्त समय नआउन्जेलसम्म समर्थन कायमै राख्ने निर्णय गरेको हो । तर, राष्ट्रपति निर्वाचन र सरकारमा जाने–नजानेबारे रास्वपा ‘पर्ख र हेर’को नीतिमा रहेको सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीले बताए । ‘अहिले राष्ट्रपति निर्वाचनको उम्मेदवारी फिर्ता लिने समय बाँकी छ, दलहरूले राष्ट्रिय सहमति गर्ने भनेर कुरा गरिरहेका छन्,’ उनले भने, ‘त्यसैले हामी पर्ख र हेरको अवस्थामा छौँ । बैठकमा उम्मेदवारी फिर्ता लिने समयसम्म पर्खौँ, राजनीतिक परिदृश्यमा केही फेरबदल हुन सक्छ भन्ने विषयमा छलफल भएको छ । त्यसपछि ठूला निर्णय गरौँ भन्ने कुरा छ ।’ 

सुझावित समाचार