अर्थ प्रश्न

बुधबार, १० फागुन, २०७९
डिजिटल संस्करण

कर्मचारीलाई तलब सुविधा दिन नसकेको भन्दै नियमनकारी निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले गुण एयरलाइन्सको उडान तत्काललाई रोक्यो । अरू वायुसेवा कम्पनीको पनि वित्तीय अवस्था अडिट गर्न लाग्नुभएको हो ? 
सबै वायुसेवा कम्पनीले बर्सेनि आफ्नो अडिट आफैँ गर्छन् । हवाई सुरक्षाका विषयमा क्यानको तर्फबाट अडिट भइरहेकै हुन्छ । तैपनि, वायुसेवा कम्पनीले सबै जहाज उडाउन नसक्ने, समयमा नियमित उडान नगर्ने, पाइलटले तलब नपाएर जागिर छाड्नेजस्ता गतिविधि देखिन थालेपछि कतै वायुसेवा कम्पनी वित्तीय संकटमा परेका छैनन् भनेर आफ्नो तर्फबाट अडिट गर्न लागिएको हो । सबै जहाज र हेलिकोप्टर कम्पनीको वित्तीय अडिट गर्ने क्यानमा छलफल भइरहेको छ ।

नियामक निकाय कुनै पनि वायुसेवा कम्पनी वित्तीय संकटमा परेर हवाई सुरक्षामा असर नपरोस् भनेर सचेत हुनुपर्छ । पाइलट र क्रु मेम्बरले समयमै तलब सुविधा नपाए कस्तो मनस्थितिमा जहाज उडाउलान् ? इन्जिनियरले कसरी जहाजको प्राविधिक इन्सपेक्सन गर्लान् ? सेवा सुविधा समयमै नपाउँदा उडान सुरक्षामा कमजोरी हुन सक्छ ।

यदि वायुसेवा कम्पनी साँच्चिकै आर्थिक संकटमा परे नियमित रूपमा जहाज मर्मतसम्भार नगर्ने, पाइलट र क्रु मेम्बरलाई तालिम नदिने, रिफ्रेसमेन्ट कार्यक्रम नगर्ने हुन सक्छ । हाम्रो मोबाइलमा जस्तै जहाजको प्रविधिमा पनि अपडेट भइरहेको हुन्छ । त्यसैले पाइलटलाई नियमित तालिम दिनैपर्ने हुन्छ । यदि तालिम दिन सकिएन भने उडान सुरक्षित नहुन सक्छ । पाइलटलाई अनटाइम तालिममा पठाउनुपर्छ । गुण एयरलाइन्सको सन्दर्भमा पनि पाइलट तथा कर्मचारीले नियमित तलब नपाएको गुनासो आएपछि क्यानको टोलीले अडिट गरेर तत्काललाई उडान रोक्न भनेको हो ।

कुनै पनि हालतमा उडान सुरक्षामा सम्झौता हुँदैन । बरु जहाज ग्राउन्डेड गरेर समस्या समाधानतिर लाग्नुपर्छ । वित्तीय अवस्था खराब भएमा कम्पनीले जहाज मर्मतमा सम्झौता गर्न सक्छ । हवाई सुरक्षालाई ध्यानमा राखेर क्यानले गुणसहित अरू वायुसेवा कम्पनीको अडिट गर्ने कुरा भइरहेको छ ।

हामीले कम्पनीले कति आम्दानी गर्यो, कति नाफा गर्यो, त्यो हेर्ने होइन । वायुसेवा कम्पनी आर्थिक संकटमा छ कि छैन, कर्मचारीले तलब पाएका छन् कि छैनन्, अन्य पार्टीको बक्यौता के–कति छ, त्यसले हवाई सुरक्षामा चुनौती थपेको छ वा छैन, वायुसेवा कम्पनीले तालिम, रिफ्रेसमेन्ट, जहाज मर्मतसम्भारमा खर्च गरेको छ कि छैन, हवाई सुरक्षा मेन्टेनमा त्यो खर्च पर्याप्त छ कि छैन भनेर हेर्ने हो ।

सुझावित समाचार