काठमाडौं महानगरमा मेयर साह आएयता ३० करोडभन्दा बढी उठ्यो राजस्व

आइतबार, २९ माघ, २०७९
डिजिटल संस्करण

घरबहाल कर पहिलेभन्दा घट्यो, पार्किङ ठेक्का लगाएर आम्दानीमा वृद्धि

काठमाडौं महानगरपालिकामा विगतका वर्षहरूमा भन्दा यसपटक राजस्व संकलनमा सुधार आएको छ । आर्थिक वर्ष ०७९/८० को पुस मसान्तसम्म महानगरले चार अर्ब ५६ करोड ६२ लाख ९७ हजार १२ रुपैयाँ राजस्व संकलन गरेको छ । गत आव ०७८/७९ को सोही अवधिमा महानगरले चार अर्ब २६ करोड नौ लाख १० हजार पाँच सय ७९ रुपैयाँ आम्दानी राजस्व उठाएको थियो ।

गत वर्षको साउनदेखि पुस मसान्तसम्मको तथ्यांकलाई तुलना गर्दा यो वर्ष महानगरले ३० करोड ५२ लाख ८७ हजार रुपैयाँभन्दा बढी राजस्व उठाएको छ । तर, यो रकम महानगरले यो वर्ष अनुमान गरेभन्दा कम हो । यो वर्ष पुस मसान्तसम्ममा महानगरले १० अर्ब ४१ करोडभन्दा बढी आम्दानी गर्ने लक्ष्य राखेको थियो । तर, लक्ष्यभन्दा कम आम्दानी गरेको छ ।

गत आव ०७८/७९ मा नौ अर्ब ८७ करोडभन्दा बढी राजस्व संकलन गर्ने लक्ष्य राखिए पनि त्यति संकलन हुन सकेको थिएन । प्रक्षेपणको हिसाबले गत आवमा ४४.२६ र यो आवमा ४३.८२ राजस्व संकलन भएको महानगरले जनाएको छ । यो वर्ष महानगरले आम्दानी बढाउने लक्ष्यसहित राजस्व संकलनमा पनि कडाइ गरेको छ । मेयर बालेन्द्र साहले पटक–पटक राजस्व तिर्न ताकेका गर्दै आएका छन् । गत वर्ष विद्यासुन्दर शाक्यका पालामा पनि बाजा बजाउँदै महानगरको टोली ठूला करदाताकहाँ पुगेको थियो । 

घरबहाल कर गत वर्षभन्दा कम संकलन 
महानगरले यो वर्ष सबैभन्दा कम आम्दानी घरबहाल करबापत संकलन गरेको छ । जसबाट एक अर्ब १८ करोड १५ लाख ५१ हजार चार सय १८ रुपैयाँ संकलन गरेको छ । गत वर्ष महानगरले सोही शीर्षकमा चालू आवको भन्दा धेरै आम्दानी गरेको छ । ०७८/७९ मा एक अर्ब ४३ करोड १७ लाख दुई हजार ९१ रुपैयाँ संकलन गरेको थियो । तर, यो वर्ष भने त्यसभन्दा कम आम्दानी गरेको छ ।  

पार्किङ ठेक्का लगाएर ७५ लाख आम्दानी
काठमाडौं महानगरपालिकाले महानगरभित्र पार्किङ ठेक्का लगाएर मात्रै ६ महिनामा ७५ लाख ३९ हजार चार सय ४६ रुपैयाँ उठाएको छ । महानगरले काठमाडौं महानगरभित्र रहेका अव्यवस्थित पार्किङ हटाउँदै व्यापारीकरण गरेपछि पार्किङबाट आम्दानी बढेको हो । यो वर्ष एक करोड पार्किङ शुल्कबापतको राजस्व संकलन हुने लक्ष्य महानगरले राखेको छ ।

महानगरले गत वर्षको सोही अवधिमा पार्किङ शुल्कबापत ५५ लाख आम्दानी अनुमान गरे पनि ३६ लाख ३९ हजार चार सय ८८ रुपैयाँ संकलन गरेको थियो । तर, यो वर्ष मेयर बालेन्द्र साह आएपछि पार्किङ शुल्कबाट हुने आम्दानी बढेको छ । मेयर साहले पार्किङ व्यवस्थित गर्ने नाममा महानगरका भित्री सहरहरूमा पार्किङ ठेक्कामा लगाएका छन् ।

सुझावित समाचार