प्रोग्रेसिभ डेमोक्रेसी : सबैका लागि समृद्धि र आत्मसम्मान

हामी शिक्षा, स्वास्थ्य, सामाजिक न्यायजस्ता विषयमा लेफ्ट र व्यक्तिगत स्वतन्त्रता, सम्पत्तिको हक, राष्ट्रियता, संस्कृति–सम्पदा संरक्षणमा चाहिँ राइट देखिन सक्छौँ

शुक्रबार, २७ माघ, २०७९
डिजिटल संस्करण

हामी वामपन्थी हौँ कि दक्षिणपन्थी ? हामी विचारका हिसाबले लेफ्ट हौँ वा राइट हौँ वा सेन्ट्रिस्ट ? हामी धेरै छलफल नगरी आफूलाई राइट वा लेफ्ट भनिहाल्छौँ । म के हुँ भनेर म पनि प्रायः आफूले आफैँलाई प्रश्न गर्ने गर्छु । केही मुद्दामा म आफूलाई लेफ्ट पाउँछु भने केही मुद्दामा राइट । अधिकांश सामाजिक मुद्दामा म आफूलाई लेफ्टतिर ढल्केको पाउँछु भने केही आर्थिक अनि राष्ट्रियताका मुद्दामा भने म आफू राइट उभिएको पाउँछु । फेरि यो लेफ्ट वा राइटको पगरी यो २१औँ शताब्दीमा आवश्यक छ वा छैन, आफैँमा बहसको विषय हो ।

इन्टरनेटमा धेरै एपहरू छन्, जसले तपाईँलाई कति प्रतिशत वामपन्थी वा कति प्रतिशत दक्षिणपन्थी भनेर बताउँछ । कुनै पनि मानिस शतप्रतिशत वामपन्थी वा शतप्रतिशत दक्षिणपन्थी हुन सक्दैन । आजको दिनमा एउटा एपअनुसार म ५५ प्रतिशत लेफ्ट र ४५ प्रतिशत राइट रहेछु । अर्को एपमा मलाई सोधिएका प्रश्नअनुसार अर्को आउला । तर, मेरो तर्क के हो भने एउटा व्यक्ति पूर्ण लेफ्ट वा राइट कसरी हुन सक्छ ? एकथरी आफूलाई साम्यवादी वा वामपन्थी भन्छन्, अर्काथरी आफू वा अरूलाई समाजवादी, अधिनायकवादी, फासीवादी भन्छन्, कोही पुँजीवादी भन्छन् त कोही दक्षिणपन्थी । नेपाली राजनीतिमा वादको बहसबारे अद्यावधिक छलफल भएको छैन । हामी आफैँ पनि यस बहसमा अपडेट हुनुपर्नेछ । हामी यो क्रान्ति वा त्यो क्रान्तिका नाममा आफैँलाई वादको लेपन लगाएर आफैँ रमाएर बसिरहेका छौँ ।

अबको युग परिणाममुखी युग हो । यहाँ नागरिकले परिणाम खोज्छ । त्यसैले होलसेलमा कोही पनि लेफ्ट वा राइट हुन सक्दैन । मुद्दा–मुद्दामा ऊ लेफ्ट वा राइट भने हुन सक्छ । हामीले यसैलाई तत्कालीन विवेकशील नेपालीमा ‘डाइनामिक सेन्ट्रिजम’ अर्थात् ‘गतिशील मध्यमार्ग’ भनेर छलफल गर्यौँ । तत्कालीन महासचिव गोविन्द नारायणले यसलाई पार्टीभित्र थप छलफलको विषय बनाउनुभयो र नीति सम्मेलनमा प्रस्तुत गर्नुभयो ।

अबको बहस गएको युगजसरी बित्नेछैन तसर्थ विगतका सैद्धान्तिक विभाजनमा उभिएर तिनको वकालत गर्नुभन्दा पनि सबै सफल अभ्यासलाई देश र जनताका मौलिक चुनौती र लक्ष्यसँग दाँजेर प्रयोग गर्न सकिने रहेछ भने त्यस्तो नीति नै आजको आवश्यकता हो । स्वतन्त्रता, समृद्धि र स्वाभिमान कुन लोकतान्त्रिक माध्यममा रही मूल्य र मान्यतालाई स्वीकार गर्दै कुन तरिकाद्वारा हासिल गर्न सकिन्छ र सो गर्न हाम्रा आर्थिक, सामाजिक र प्रशासनिक बाटो के–के हुन् ? त्यस विषयमा भने हामी स्पष्ट हुनुपर्छ ।

विश्वमा भएका शासकीय अभ्यासलाई हेर्दा न समाजवाद पर्याप्त छ, न पुँजीवाद, न वामपन्थी पूर्ण छन् र न दक्षिणपन्थी विचार नै पर्याप्त छ । तीभित्र भएका केही न केही विचार आज पनि उत्तिकै सान्दर्भिक छन् । सिद्धान्त गतिशील हुन्छ । सामाजिक न्यायका लागि स्रोतको न्यायपूर्ण वितरण र वितरणका लागि भएका स्रोतको तीव्र विकास र सिर्जनामुखी व्यवहारबीच सर्वोपरि हित स्थापना गर्न गतिशील मध्यमार्ग नै आजका लागि आवश्यक राजनीतिक दर्शन हो । राज्यले सबैलाई समान धरातल÷अवसर दिने, तर व्यक्तिले आफ्नो मिहिनेतअनुसार आफ्नो उचाइ कायम गर्न पनि उत्तिकै सहज हुने सिद्धान्त नै आजको युगले खोजेको विचार हो ।

शिक्षा, स्वास्थ्य र रोजगारी नागरिक बसेको ठाउँबाट आधा घन्टाको दूरीमा उपलब्ध गराउने डेलिभरीको राजनीति नै प्रोग्रेसिभ डेमोक्रेसी हो । गतिशील मध्यमार्गको धरातलमा लोकतान्त्रिक चरित्र र नागरिककेन्द्रित मुद्दाको डेलिभरीले प्रोग्रेसिभ डेमोक्रेसीलाई व्याख्या गर्छ ।
 

शिक्षा, स्वास्थ्य, सामाजिक न्यायजस्ता विषयमा हामीले लेफ्टका अवधारणालाई अंगीकार गर्न सक्छौँ भने व्यक्तिगत स्वतन्त्रता, सम्पत्तिको हक, राष्ट्रियता, संस्कृति–सम्पदा संरक्षणमा हामी राइट देखिन सक्छौँ । समाजलाई प्राथमिकता दिँदै गर्दा हामीले व्यक्तिले ल्याउन सक्ने इनोभेसनलाई ध्यान दिन जरुरी छ । फेसबुक, ट्विटर, इन्टरनेटका एप, प्रविधिको विकासमा राज्यको भन्दा व्यक्तिको योगदान बढी छ । व्यक्तिले ल्याउने नवीनतालाई राज्यले प्रोत्साहन गर्न जरुरी छ ।

त्यसैले, हामीले गतिशील मध्यमार्गलाई लेफ्ट–राइट, लेफ्ट–राइट गर्दै अघि बढ्ने विचारका रूपमा पनि बुझ्ने गरेका छौँ । सामान्यतया हामीले मध्यमार्ग भन्नेबित्तिकै बीचको बाटो भन्ने बुझ्छौँ । वा, आधा–आधाजस्तो भन्ने बुझ्छौँ । तर, गतिशील मध्यमार्ग भनेको बीचको भन्ने होइन, यो विचारले मूलभूत सिद्धान्तअनुसार नागरिकलाई जे गर्दा ‘उचित’ हुन्छ, त्यही गर्ने भन्ने हो । त्यो भनेको निर्णयहीनता होइन, अगाडि बढ्ने भन्ने हो । गतिशीलता हो, तर उग्रतारहित । अर्थात् कुनै मुद्दामा हामी राइट देखिन सक्छौँ भने कुनैमा लेफ्ट ।

राजनीति पनि विज्ञानजस्तै गतिशील, सिर्जनशील र समाधानमूलक हुन जरुरी छ । जसरी विज्ञानले फट्को मारेको छ, राजनीतिक चिन्तनले पनि राजनीतिक जीवनमा त्यस्तै फड्को मारेको छ । पहिला राजनीतिलाई राज्य, शासक र शासनसँग मात्र जोडेर हेरिन्थ्यो, तर अहिले राजनीति अझ नागरिक केन्द्रित बन्दै गएको छ । प्रत्येक नागरिकलाई कसरी धनी बनाउने र प्रत्येक नागरिकलाई कसरी आत्मसम्मानसहितको जीवन दिलाउने भनेर प्रत्येक राज्यले विभिन्न प्रयोग गरिरहेका छन् ।

लामो समय राजनीति पुँजीवाद या समाजवादको वैचारिक ध्रुवीकरणमा ध्रुवीकृत र सीमित भयो । ती वादमा पूर्णता थिएन, त्यसैले सोभियत संघजस्ता साम्यवादी र युगोस्लाभियाजस्ता समाजवादी मुलुकहरू ध्वस्त भए । बेलायत र अमेरिकाजस्तो पुँजीवादलाई प्रश्रय दिने मुलुकले पनि अन्ततः पुँजीवादको अपूर्णतालाई स्वीकार गरेर समयसापेक्ष रूपान्तरणलाई आत्मसात् गरेर सामाजिक सुरक्षालाई अंगीकार गरे र त्यसको ठिक उल्टो साम्यवादी चीनले पुँजीवादलाई अंगीकार गरेर भौतिक विकासलाई तीव्र बनायो र यससँगै हिजो सांस्कृतिक क्रान्तिताका भएको सांस्कृतिक विनाशको पक्षबाट पाठ सिकेर आफ्नो इतिहास र संस्कृतिको संरक्षणतर्फ ध्यान दिँदै छ । 

यी यस्ता विविध वैचारिक सम्मिश्रण किन आवश्यक भयो भने जसरी पुँजीनिवेशविना रोजगारी सिर्जना हुँदैन, त्यसरी नै मजदुर हितविना पुँजी निवेश नाफामूलक हुँदैन । तसर्थ, राष्ट्र–प्रेम, उदारवाद, पुँजीवाद, समाजवादजस्ता उपयोगी विचारबाटै नेपाल सुहाउँदो र नेपालीको अपेक्षा हासिल गर्न सकिने गतिशील मध्यमार्ग तय गर्नुपर्ने हुन्छ । जसरी प्राकृतिक सदुपयोगविना विकास सम्भव हुँदैन तर प्राकृतिक संरक्षणविना विकास पनि दिगो हुँदैन । त्यसैले, यहाँ सन्तुलन आवश्यक छ । त्यसका निम्ति नागरिककेन्द्रित दर्शन गतिशील मध्यमार्ग सबैभन्दा व्यावहारिक दर्शन हो ।

यसका निम्ति हामीले नागरिकदेखि राज्यसम्म कस्तो बनाउने भन्ने बुझ्न जरुरी छ । गतिशील मध्यमार्गले खोज्ने नागरिक, समाज, बजार, सरकार, राज्य यस्ता हुनेछन् । विवेकशील नागरिक, उद्यमशील समाज, समन्वयात्मक बजार अर्थतन्त्र, सेवक सरकार र हितकारी राज्य बनाउन सके हामीले खोजेको परिणाम हासिल गर्न सकिन्छ । सबैभन्दा पहिले त नागरिकले सही र गलत छुट्याउन सक्ने हुनुपर्छ । राज्यले नागरिकलाई सही शिक्षा र सही सीप दिन सके नागरिक विवेकशील बन्न सक्छन् । विवेकशील नागरिकले समाजलाई सही दिशा दिन सक्छन् । आजसम्म हामीले राज्य र समाजको चरित्रबारे छलफल गर्यौँ तर हामीले नागरिकलाई कस्तो बनाउने भन्ने छलफल गर्न सकिरहेका छैनौँ । 

दोस्रोमा हामीले उत्पादनशील, उद्यमशील समाज बनाउन जरुरी छ । उद्यम हाम्रो सामाजिक चरित्र बन्न जरुरी छ । तेस्रोमा, हामीले खुला बजारलाई प्रोत्साहन गर्ने तर शिक्षा, स्वास्थ्यजस्तो राज्यको दायित्व भएको क्षेत्रमा बजारलाई नियमन गर्ने समन्वयात्मक बजार अर्थतन्त्र अंगीकार गर्न सक्छौँ । चौथो, हाम्रो सरकारको चरित्र शासकजस्तो छ । यसलाई ठ्याक्कै उल्ट्याएर सरकारलाई सेवक बनाउन जरुरी छ । पाँचौँ, हाम्रो राज्य एउटा साथीजस्तो हुन जरुरी छ, जसलाई हामीले हितकारी राज्य भनेका छौँ । राज्यले दुःख पर्दा नागरिकलाई हेर्न जरुरी छ, तर नागरिकलाई पूरै राज्यमा निर्भर गराउने नीति पनि प्रत्युत्पादक भएको हामीसँग धेरै उदाहरण छन् । त्यसैले, राज्यले बेरोजगारी भत्ताको नीति होइन, स्वरोजगारीको तालिम दिन जरुरी छ ।

गतिशील मध्यमार्गमा टेकेर लोकतन्त्रको आधारभूत सिद्धान्तलाई अंगीकार गर्दै नागरिक केन्द्रित प्रगतिशील मुद्दा उठाउन सके त्यसलाई ‘प्रोग्रेसिभ डेमोक्रेसी’ भनेर चित्रण गर्न सकिन्छ । मैले यसलाई आमनागरिकको भाषामा भन्दा मुद्दाकेन्द्रित राजनीति, जसले प्रत्येक नागरिकलाई आत्मसम्मान र प्रत्येक नागरिकलाई धनी बनाउने दिशा दिन सक्छ त्यो सिद्धान्त नै ‘प्रोग्रेसिभ डेमोक्रेसी’ हो । 

हामीले खोजेको लोकतन्त्र खुला समाज, आत्मसम्मान, सामाजिक न्याय, स्वाभिमान, व्यक्तिगत स्वतन्त्रता, वाक्स्वतन्त्रता, सहभागितासहितको लोकतन्त्र हो । शिक्षा, स्वास्थ्य र रोजगारी नागरिक बसेको ठाउँबाट आधा घण्टाको दूरीमा उपलब्ध गराउने डेलिभरीको राजनीति नै प्रोग्रेसिभ डेमोक्रेसी हो । गतिशील मध्यमार्गको धरातलमा लोकतान्त्रिक चरित्र र नागरिककेन्द्रित मुद्दाको डेलिभरीले प्रोग्रेसिभ डेमोक्रेसीलाई व्याख्या गर्छ । सबैका लागि समृद्धि, सबैका लागि आत्मसम्मान प्रोग्रेसिभ डेमोक्रेसीको लक्ष्य हो ।

सुझावित समाचार