स्टार्ट अप नीति छिट्टै पारित हुन्छ : उद्योगमन्त्री

मंगलबार, १७ माघ, २०७९
डिजिटल संस्करण

स्टार्ट अप नीति अन्तिम चरणमा पुगेको र छिट्टै पारित हुने उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले जानकारी दिएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधिमण्डलसँग सोमबार भएको भेटवार्तामा मन्त्री भण्डारीले यस्तो बताएका हुन् । 

भेटमा महासंघको पहलमा तयार भएको स्टार्ट अप नीतिका सम्बन्धमा अन्तिम छलफल गरी पारित गर्न महासंघले आग्रह गरेको  थियो । त्यस्तै, अस्थिर ब्याजदरका कारण विशेष गरी साना व्यवसायी अत्यन्त प्रताडित हुनुुपरेको महासंघका अध्यक्ष शेखर गोल्छाले जानकारी गराए । ‘उद्योगहरूमा अघोषित लोडसेडिङका कारण उत्पादन थप प्रभावित बनेको, बजारमा उधारोको समस्या विकराल बन्दै गएको अवस्थामा उधारो उठाउनेसम्बन्धी कानुन यथाशीघ्र ल्याउन पहल गर्नुहोस्,’ उनले भने ।  

महासंघले प्रधानमन्त्रीको आसन्न भारत भ्रमणका क्रममा नयाँदिल्लीमा नेपाल–भारत लगानी सम्मेलन आयोजना गर्ने र त्यसमा भारतस्थित महासंघको साझेदार संस्था सिआइआई सहआयोजक रहने कार्यक्रम रहेको जानकारी गराउँदै मन्त्रालयका तर्फबाट आवश्यक समन्वय गरिदिनसमेत आग्रह गरेको छ । 

भारतले अहिले गहुँ आयात रोक्दा नेपाली मैदा मिलहरू समस्यामा परेको जानकारी गराउँदै महासंघले यसको निराकरणका लागि सरकारबाट यथाशीघ्र पहल हुनुपर्नेमा जोड दियो । मन्त्री भण्डारीले गहुँ आयातका विषयमा भारतसँग छलफल भैसकेको र तत्काल आयात खुल्ने जानकारी गराए । नेपालबाट भारत निर्यात गर्दा जारी हुने उत्पत्तिको प्रमाणपत्रको अनलाइन प्रक्रियालाई भारतले मान्यता नदिएकाले यसमा सहयोग गर्नसमेत महासंघले सुझाव दियो । 

भेटवार्तामा मन्त्री भण्डारीले महासंघको सुुझावलाई अगाडि बढाउने र महासंघसँग नियमित संवादमा रहेर काम गर्ने आश्वासन दिए । बन्द–हडताल एवं लोडसेडिङका कारण उत्पादन नै बन्द हुने अवस्था आउन नदिन मन्त्रालयको तर्फबाट आवश्यक पहल गर्ने उनको आश्वासन छ । यस्तै, बजेटको मध्यावधि समीक्षामार्फत सरकारको खर्च बढाउन विशेष योजना सार्वजनिक गर्ने र व्यवसायीको मनोबल बढाउन मन्त्रालयले निरन्तर सहकार्य गर्ने पनि उनले बताए । 

सुझावित समाचार